जनता टाइम्स

२७ कार्तिक २०८२, बिहीबार १३:२०

राजनीतिक दलसँग संवाद गर्न नचाहने सरकारको नेतृत्वमा चुनाव हुन सक्दैन : शंकर पोखरेल 


काठमाडौं, कात्तिक २७ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले भदौ २३ र २४ का घटनाहरूलाई सुनियोजित षडयन्त्र भएको दाबी गर्नुभएको छ ।

नेपाल खेलकुद महासंघ केन्द्रीय समितिको पाँचौँ बैठकलाई बिहीबार सम्बोधन गर्दै उहाँले युवालाई भड्काएर षडयन्त्र पूर्वक सो घटना गराइएको बताउनुभयो ।  ‘फेक एकाउन्टमार्फत समाजलाई भड्काएर भदौ २३ र २४ को घटना गराइयो’, उहाँले भन्नुभयो ।

सो घटना छलकपट र छद्म तरिकाले गरिएको आक्रमण षडयन्त्रमै आधारित रहेको र जेन–जी आन्दोलनको नाममा प्रयोग भएका फेसबुक एकाउन्टमध्ये ठुलो अंश नै फेग रहेकाले यो षडयन्त्र नै भएको उहाँले दाबी गर्नुभयो । ‘एआईको प्रयोग गरी तयार पारिएको सामाग्रीबाट नेपाली युवालाई भड्काउने काम गरिएको रहेछ’, उहाँले भन्नुभयो ।

पोखरेलले भदौ २४ को आगजनी सामान्य पेट्रोल प्रयोग मात्रबाट हुन नसक्ने र विशिष्ट रसायनको प्रयोग भएको अन्तरराष्ट्रिय अनुसन्धान स्तरीय रिपोर्टले देखाएको बताउनुभयो ।  जसले २४ गतेको घटनालाई २३ गतेको आक्रोशको स्वतः परिणाम भन्न नमिल्ने पुष्टि गरेको उहाँको धारणा छ ।

महासचिव पोखरेलले विदेशी शक्ति, राजावादी, माओवादी र रास्वपा जस्ता समूहहरूले सहकार्य गरी एमालेविरुद्ध सुनियोजित रूपमा आक्रमण गरेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रा विरुद्ध विदेशी शक्ति समेतको स‌ंलग्नतामा सुनियोजित रूपमा आक्रमण गरिएको छ’, उहाँले भन्नुभयो ।

उहाँले अहिलेको सरकार पनि षडयन्त्रकारीका मतियार भएको बताउनुभयो । ‘अहिलेको सरकारले खुलेआम रूपमा आगो लगाएर हिँड्नेहरूलाई खुला छाडिरहेको देखिन्छ, सरकारले देखिने मान्छेको छानबिन गर्नुको साटो गोप्य रूपमा षडयन्त्र गर्ने मानिसको छानबिन गर्नु आवश्यक छ’, उहाँले भन्नुभयो ।

यो सरकारले चुनाव गराउन नै नचाहेको उहाँको भनाइ छ । ‘राजनीतिक दलसँग संवाद गर्न नचाहने सरकारको नेतृत्वमा चुनाव हुन सक्दैन, राजनीतिक दल र तिनका नेताहरूलाई चुनावमा भाग लिनै दिन चाहने सरकारले चुनाव गराउन सक्दैन’,उहाँले भन्नुभयो ।

त्यसकारण एमालेले संसद् पुनर्स्थापना, लोकतान्त्रिक प्रक्रिया र शान्ति स्थापनाका लागि सशक्त अभियान अघि बढाउने उहाँले जनकारी  दिनुभयो । त्यसकै लागि एमालेले जनप्रदर्शनको कार्यक्रम राखेको उहाँले बताउनुभयो ।

पोखरेलले पार्टीको महाधिवेशन उद्घाटन समारोहलाई ऐतिहासिक जनसहभागिताको कार्यक्रममा परिणत गर्न पार्टीले व्यापक जनपरिचालन गर्ने योजना सुनाउनुभयो । पार्टीको महाधिवेशन उद्घाटन कार्यक्रम अहिलेसम्मकै ऐतिहासिक हुने उहाँले दाबी गर्नुभयो ।

पोखरेलले भदौ २३ र २४ को घटनाका वास्तविक दोषी पहिचान गर दण्डित गर्न आग्रह गर्दै सम्पूर्ण सत्य-तथ्य सार्वजनिक गर्न र संसद् पुनर्स्थापना गरी मुलुकलाई पुनः लोकतन्त्र र शान्तिको मार्गमा लैजान सबै राजनीतिक शक्ति एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।