जनता टाइम्स

२७ कार्तिक २०८२, बिहीबार २२:२७

रामेछापको उमाकुण्ड गाउँपालिकाले वडास्तरमा एकीकृत घुम्ती सेवा  शिविर सञ्चालन गर्दै


रामेछाप, कात्तिक २७ ।  रामेछापको  विकट हिमाली गाउँ उमाकुण्ड गाउँपालिकाले नागरिकलाई सहज र सुलभ सेवा दिन वडास्तरमा  एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने भएको छ ।

सो गाउँपालिका सबै सातवटै वडामा मङ्सिर २ गतेदेखि ८ गतेसम्म एकीकृत घुम्ती शिविर सञ्चालन गर्न लागेको हो । गाउँ कार्यपालिकाको कात्तिक २५ गतेको निर्णयअनुसार सञ्चालन हुन लागेको शिविरमार्फत गाउँपालिकाका बासिन्दाले आवश्यक सरकारी सेवा आफ्नै वडाबाट लिन सक्नेछन्। गाउँपालिकाले ‘घरदैलोमै सेवा प्रवाह’ गर्ने अवधारणाअन्तर्गत सञ्चालन गर्न लागेको यो शिविर एकै स्थानबाट धेरै सेवाहरू उपलब्ध गराउने लक्ष्यका साथ आयोजना गरिएको गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले जानकारी दिनुभयो ।

गाउँपालिकाका अनुसार शिविरमा नागरिकता वितरण, राष्ट्रिय परिचयपत्रका लागि नाम दर्ता, जन्म, मृत्यु र विवाह दर्ता, सामाजिक सुरक्षा भत्ता सम्बन्धी सेवा, स्वास्थ्य परामर्श, कृषि तथा पशुपन्छी विकाससम्बन्धी सल्लाह, व्यावसायिक सीप, कानुनी सल्लाह, महिला तथा बालबालिका सम्बन्धी जानकारी, योजना सम्झौता लगायतका सेवाहरू उपलब्ध हुने छन्।

शिविर मङ्सिर २ गते (मङ्गलवार) उमाकुण्ड–१ गुम्देलबाट सुरु भई मङ्सिर ८ गते (सोमबार) उमाकुण्ड–७ भूजीमा पुगेर सम्पन्न हुने कार्यक्रम छ। यस अवधिमा क्रमशः बाम्ती भण्डार, कुभुकास्थली, प्रीति, गाउँपालिका केन्द्र, र गुप्तेश्वरलगायत वडामा पनि घुम्ती सेवा पुर्‍याइनेछ।

गाउँपालिका अध्यक्ष सुनुवारले यो पहलले नागरिकले स–साना कामका लागि सदरमुकाम धाउनुपर्ने अवस्था अन्त्य हुने बताउनुभयाे। उहाँका अनुसार, ‘गाउँपालिकाको सेवा जनताकै घरदैलोमा पुगोस् भन्ने उद्देश्यका साथ यो कार्यक्रम ल्याइएको हो।’

उहाँले सबै वडाका बासिन्दालाई तोकिएको मिति र स्थानमा उपस्थित भई उपलब्ध सेवाहरू लिन आग्रह गर्नुभएको छ।