काठमाडौं, कात्तिक २८ । वरिष्ठ पत्रकार किशोर नेपालले अहिलेको सरकारलाई भद्रकाली सरकारको संज्ञा दिनुभएको छ ।
नेपाल पत्रकार महासंघले शुक्रबार काठमाडौंमा आयोजना गरेको फ्री मिडिया नेटवर्कको सबलीकरणका लागि राष्ट्रिय कार्यशाला गोष्ठीको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले अहिलेको सरकार जनमतबाट नबनेको बताउनुभयो । ‘अहिलेको सरकार भद्रकाली सरकार हो’, उहाँले भन्नुभयो ।
महासंघकी अध्यक्ष निर्मला शर्माको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेपालले सामाजिक सञ्जालको स्थापना राम्रो नियतले भएको भए पनि त्यसको सदुपयोग नभएको बताउनुभयो । ‘हामीले सामाजिक सञ्जालको उचित सदुपयोग गर्न सकेनौँ, स्वतन्त्रताको रक्षा गर्न सकेनौँ’, उहाँले भन्नुभयो ।

हिजोको अँध्यारो दिन नदेखेकाले अहिले स्वतन्त्रताको उपयोग गर्न नसकेको उहाँको धारणा छ । नेपालले स्वतन्त्रताको दुरुपयोग भएको बताउनुभयो । ‘ हामी सहित भयौँ, कुनै पनि कुराको अनुसन्धानमा ध्यान गएन, गहिराइमा जान सकिएन, त्यसैले नागरिकले भरोसा गर्न सकेन, त्यसैले पत्रकारलाई पनि नागरिकले विश्वास गरेन’, उहाँले भन्नुभयो ।
आफ्नो स्थानीय अवस्थाको पहिचान गरेर अघि बढ्नु पर्ने बताउँदै उहाँले अहिलेको परिणाम सबै नातावाद र कृपावादको कारण भएको बताउनुभयो ।
कार्यक्रममा सूचना आयोगका प्रमुख आयुक्त किशोर आचार्यले पत्रकारिता क्षेत्र सामाजिक सञ्जालबाट प्रभावित भएको बताउनुभयो । पत्रकारिता जोगाउनलाई सामाजिक सञ्जालभन्दा यसलाई अलग गर्न सक्नु पर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहाल, विष्णु निष्ठुरी लगायतले पनि बोल्नु भएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पदाधिकारी, केन्द्रीय सदस्य, महासंघा प्रदेश र जिल्ला नेतृत्व समेतकाे सहभागता रहेकाे छ ।













प्रतिक्रिया दिनुहोस्