काठमाडौं, कात्तिक २९। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उहाँकी पत्नी आरजु राणासहित सिंगापुरबाट स्वदेश फर्किनु भएको छ। स्वास्थ्य उपचारका लागि कात्तिक १० गते सिंगापुर प्रस्थान गर्नुभएका देउवा दम्पती शुक्रवार राति नेपाल फर्किनुभएको हो।
गत भदौ २४ गते ‘जेनजी आन्दोलन’ का क्रममा प्रदर्शनकारीको कुटपिटमा देउवा दम्पती घाइते हुनुभएकाे थियाे। तत्काल नेपालमा उपचार गराएपछि असोज २४ गते उहाँहरू सार्वजनिक हुनुभएकाे थियाे। त्यसपछि कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी भई देउवाले कार्यवाहक जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई सुम्पिनु भई थप उपचारका लागि पुनः सिंगापुर जानुभएको थियो।
यस बीचमा नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितामा महाधिवेशन नियमित गर्ने वा विशेष गर्ने, निर्वाचनअघि आयोजना गर्ने कि पछि भन्ने विषयमा निरन्तर बहस जारी रहेकाे छ । तथापि स्पष्ट निष्कर्ष ननिस्कँदा बैठकहरू अनिर्णयमै रुमल्लिएका छन्।
सभापति देउवा स्वदेश फर्किएपछि अब केन्द्रीय कार्यसमितिको बैठकले ठोस निर्णयमा पुग्ने आशा नेताहरूले व्यक्त गरेका छन्। सम्भवतः मंसिर १ गतेका लागि बोलाइएको बैठकमा सभापति देउवा पनि सहभागी हुनुहुने बुझाइ नेताहरूको रहेको छ।













प्रतिक्रिया दिनुहोस्