भक्तपुर, कात्तिक ३० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा पुनर्स्थापना नभएसम्म पार्टीको जनप्रदर्शन नरोकिने बताउनुभएको छ ।
आइतबार प्रेस चौतारी नेपालसँग आबद्ध पत्रकारहरूसँग आफ्नै निवास गुण्डुमा कुराकानी गर्दै अध्यक्ष ओलीले प्रदर्शन अझ सशक्त रूपमा अघि बढ्ने बत्ताउनुभयो । ‘हामीले जनप्रदर्शन सुरु गरेका छौँ, यो राेकिनेवाला छैन, अझ बढ्दै जान्छ’, उहाँले भन्नुभयो ।
वर्तमान सरकारले जनप्रतिनिधि वा संविधानप्रति कुनै उत्तरदायित्व नराखेको उहाँले बत्ताउनुभयो । अहिलेको सरकार असंवैधानिक भएको उहाँको दाबी छ । उहाँले भन्नुभयो, ‘यो सरकार असंवैधानिक सरकार हो, यो कसैप्रति उत्तरदायी छैन, यसलाई कसैले चिन्दैन, त्यसैले यस्तो सरकार हट्नुपर्छ।’
प्रतिनिधि सभा पुनर्स्थापनाको मागसहित सुरु गरिएको एमालेको जनप्रदर्शन नरोकिने उहाँले स्पष्ट पार्नुभयो। ‘प्रतिनिधि सभा पुनर्स्थापना नभएसम्म यो आन्दोलन रोकिन्न, यो अझ फैलिँदै जान्छ, रोकिनेवाला छैन’, उहाँले भन्नुभयो ।
अध्यक्ष ओलीले एमालेले कहिल्यै चुनावबाट पछि नहट्ने स्पष्ट गर्दै अहिलेको ‘अवैधानिक सरकार’लाई चुनाव गराउने अधिकार नै नभएको दाबी गर्नुभयो। उहाँले भन्नुभयो, ‘एमाले चुनावबाट भाग्दैन तर यो अवैधानिक सरकारलाई देशमा चुनाव गराउने हक छैन, त्यसैले विघटित प्रतिनिधि सभा शीघ्र पुनर्स्थापित हुनुपर्छ।’
अध्यक्ष ओलीले वर्तमान सत्ता संरचनाले संवैधानिक अभ्यास र लोकतान्त्रिक मूल्य–मान्यतामाथि गम्भीर आघात पुगेको बत्ताउनुभयो । मुलुकलाई वैधानिक मार्गमा फर्काउन संसद् पुनर्स्थापनाबाहेक विकल्प नरहेको ओलीले निष्कर्ष प्रस्तुत गर्नुभयो।













प्रतिक्रिया दिनुहोस्