जनकपुरधाम, कात्तिक ३० । मधेश प्रदेशका अघिल्ला चार मुख्यमन्त्रीले छुट्टाछुट्टै चार स्थानमा शपथ लिइएको पाइएको छ ।
अघिल्ला मुख्यमन्त्रीहरु जनता समाजवादी पार्टी (जसपा) नेपालका लालबाबु राउत, जसपाकै सरोजकुमार यादव, जनमत पार्टीका सतिशकुमार सिंह र लोकतान्त्रिक समाजवादी पार्टीबाट जितेन्द्रप्रसाद सोनार (सोनल) ले छुट्टाछुट्टै चार स्थानमा शपथ लिइएको तथ्य फेला परेको हो ।
वर्तमान राजनीतिक परिस्थितीमा मुख्यमन्त्रीमा नियुक्त नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादवले महोत्तरीको एक होटलमा शपथ लिएको भन्दै आलोचना भएपछि खोजीनीति गर्दै जाँदा अघिल्ला मुख्यमन्त्रीहरूको शपथको तथ्य बाहिर आएको हो । तात्कालिन मुख्यमन्त्रप् लालबाबू राउतले चुरोट फैक्ट्रीभित्रको खेल मैदानमा, जसपाका सरोजकुमार यादवले मधेश प्रदेश भवन मुख्यमन्त्री कार्यालयको चौरमा, सतिशकुमार सिंहले चुरोट फैक्ट्री भित्रको कवड हलमा र जितेन्द्र प्रसाद सोनार (सोनल)ले प्रदेश प्रमुखको निवासमा शपथ लिइएको विषय चर्चामा आएको हो ।
गत कात्तिक २३ गते निवर्तमान प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा ३ बमोजिम सवैभन्दा ठूलो दलको नेताको हैसियतमा नेकपा एमालेका संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।
मुख्यमन्त्रीमा यादवलाई नियुक्त गरेपनि प्रदेश प्रमुखको कार्यालयमा शपथ गराउने वातावरण नभएपछि महोत्तरीको बर्दिबासस्थित एक होटलमा प्रदेश प्रमुख भण्डारीले मुख्यमन्त्रीको शपथ खुवाउनु भएको थियो । बाध्यात्मक परिस्थितीमा होटलमा शपथ ग्रहण गर्नुपरेको मुख्यमन्त्री यादवले बताउँदै आउनु भएको छ । आन्दोलनरत पक्षसँग मुडभेड नहोस् भनेरै आफूले संयमता अपनाएको उहाँको भनाई छ ।
‘मेरो नियुक्ति आइतबारै राति भइसकेको थियो । तर, आन्दोलनले गर्दा त्यहाँ शपथ खुवाउने वातावरण थिएन । त्यस राति अचानक प्रदेश प्रमुखज्यू बिरामी हुनुभयो । उहाँ बिरामी भएर काठमाडौं जान लाग्ने बेलामा शपथ खुवाएर जानुभएन भने मै घेर्छु भनिसकेपछि उहाँले बर्दिबास आउनुस, यहाँ ममाथि कुटपिट होला भन्नुभयो,’ मुख्यमन्त्री यादवले भन्नुभयो, ‘त्यस्तो अवस्थामा मैले होटलमा शपथ खानु अपराध हो त ? मैले यहाँ विवाद गर्न नखोज्नु मेरो कमजोरी हो ? विस्तारै वातावरण सहज बन्दै जान्छ भनेर मैलो त्यसो गर्न नखोजेको न हो ।’
मुख्यमन्त्रीले फलानो ठाउँमै शपथ खानुपर्ने कानुनी बाध्यता नरहेको कानुनविद्हरु बताउँछन् । नेपालको संविधान २०७२ को धारा १७२ मा मुख्यमन्त्री र मन्त्रीले प्रदेश प्रमुख समक्ष तथा राज्यमन्त्री र सहायक मन्त्रीले मुख्यमन्त्री समक्ष आफ्नो कार्यभार सम्हाल्नुअघि प्रदेश कानून बमोजिम पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ । तर कहाँ (कुन स्थान/भवन) भन्ने कुरा संविधानले बाध्य बनाएको/नबनाएको उनीहरूको भनाई छ । एक अधिबक्ताका अनुसार होटलमा, चौरमा वा कार्यालयमा यदि प्रदेश प्रमुख उपस्थित छन् भने सपथ प्रक्रियागत रूपमा सम्भव छ ।
नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा २ बमोजिम नियुक्त भएका मुख्यमन्त्रीले विश्वासको मत लिन असफल भएपछि उपधारा ३ बमोजिम मुख्यमन्त्री नियुक्त गरिनु स्वभाविक र संवैधानिक भएको ती अधिवक्ताले जिकिर गरे । त्यसैको झोकमा शपथको विवाद झिकेको उनको भनाई छ ।














प्रतिक्रिया दिनुहोस्