जनता टाइम्स

३० कार्तिक २०८२, आईतवार २०:५८

‘यो सरकारको टेक्ने आधार पनि छैन, झुण्डिने आलम्ब पनि छैन’ :  केपी शर्मा ओली


भक्तपुर, कात्तिक ३० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार पूर्णतः अवैधानिक र जनसमर्थनविहीन भएकाे बताउनुभएकाे छ ।

आइतबार प्रेस चौतारी नेपालसँग आबद्ध पत्रकारहरूसँग आफ्नै निवासमा गरिएको कुराकानीमा उहाँले अहिलेको सरकार न राजनीतिक, न वैधानिक र न सामाजिक रूपमा टिक्न सक्ने आधार रहेको दाबी गर्नुभयो। अध्यक्ष ओलीले सुशीला कार्की नेतृत्वको वर्तमान सरकार अवैधानिक सरकार भएकाे बताउनुभयाे ।

अहिलेकी प्रधानमन्त्रीलाई संविधान र जनताले मान्यता नदिएको उहाँले स्पष्ट पार्नुभयाे । उहाँले भन्नुभयो, ‘अहिलेको सरकारको कुनै वैधानिक, राजनीतिक र सामाजिक आधार छैन, सुशीला कार्की नेतृत्वको सरकार अवैधानिक हो, अहिलेकी प्रधानमन्त्री प्रधानमन्त्री होइन, तथाकथित प्रधानमन्त्री मात्रै हुन्।’

उहाँले वर्तमान सत्ता व्यवस्थालाई ‘हावामा झुण्डिएको सरकार’का रूपमा व्याख्या गर्दै यसको अस्तित्व नै आधारहीन रहेको तर्क प्रस्तुत गर्नुभयो। ‘यो सरकारको टेक्ने आधार पनि छैन, झुण्डिने आलम्ब पनि छैन, यो हावामा झुण्डिएको सरकार हो,’ अध्यक्ष ओलीको भनाइ छ।

अध्यक्ष ओलीका अनुसार यो सरकार जनताले चुनेको होइन, संविधानले चिनेको पनि होइन। उहाँले जेनजी आन्दोलन, सर्वसाधारण नागरिक, संसद् र संवैधानिक संरचनाले समेत अहिलेकी प्रधानमन्त्रीलाई आफ्नो प्रतिनिधि नमानिसकेको तथ्य उठाउँदै भन्नुभयो, ‘अहिलेकी प्रधानमन्त्री कसैकी पनि प्रतिनिधि होइन, जेनजी, जनता, संसद्, संविधान—सबैले यो हाम्रो प्रतिनिधि होइन भनेर भनिसकेका छन्।’

उहाँले वर्तमान सरकार अपराध र अराजक गतिविधि प्रोत्साहन गर्ने समूहको प्रतिनिधि भएकाे टिप्पणी गर्दै यसले आगजनी, लुटपाट, तोडफोड र ध्वंस गर्ने प्रवृत्तिलाई नै प्रतिनिधित्व गरेको बताउनुभयाे । वर्तमान सरकारबारे ‘वैधानिकता शून्य’ रहेको निष्कर्ष प्रस्तुत गर्दै उहाँले भन्नुभयाे, ‘यो सरकारको कुनै वैधानिकता छैन, यो कसैले हटाउन नसकेको कारण मात्र टिकेको हो।’

अध्यक्ष ओलीले मुलुकलाई सही संवैधानिक मार्गमा फर्काउने एक मात्र उपाय प्रतिनिधि सभा पुनर्स्थापना भएको स्पष्ट गर्दै त्यसपछि सर्वपक्षीय सरकार गठन गर्ने बाटो संविधाबाटै खुलाउने सकिने सुझाउनुभयाे । ‘देशलाई सही बाटोमा फर्काउन प्रतिनिधि सभा पुनर्स्थापना गर्नुपर्छ, प्रतिनिधि सभाले संविधानमा व्यवस्था गरेर सर्वपक्षीय सरकार बनाउनु पर्छ’, उहाँले भन्नुभयाे ।