जनता टाइम्स

३० कार्तिक २०८२, आईतवार २१:१३

एमाले राजनीतिक सङ्कटसँग जुध्ने निर्णायक शक्ति : शंकर पोखरेल


दैलेख, कात्तिक ३० । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मुलुक गम्भीर राजनीतिक अस्थिरताको मोडमा पुगेको बताउँदै यस्तो सङ्कटसँग जुध्न सक्षम पार्टी एमाले नै भएको दाबी गर्नुभएको छ। दैलेखको पटांगीनी, दुल्लुमा आइतबार एमाले जिल्ला कमिटीद्वारा आयोजित जनसभालाई सम्बोधन गर्दै उहाँले पार्टीलाई अझ सुदृढ र जनमुखी बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो।

उहाँले भदौ २३ र २४ गते संवैधानिक निकायहरूमा गरिएका तोडफोड र आगजनीलाई ‘राष्ट्रलाई कमजोर पार्ने सुनियोजित षड्यन्त्र’का रूपमा व्याख्या गर्दै त्यो घटनाले देशलाई अस्थिरता र अराजकताको खतरामा पुर्‍याएको बताउनुभयो। ‘सिंहदरबार, सर्वोच्च अदालतजस्ता संवैधानिक निकायमा आगो लगाउनु राष्ट्रविरुद्धको गम्भीर अपराध हो, हामी सङ्कटसँग भाग्ने होइन, त्यसको सामना गर्दै देशलाई निकास दिने अभियानमा अघि बढिरहेका छौँ,’ उहाँले स्पष्ट पार्नुभयो।

महासचिव पोखरेलले एमाले नेतृत्व राष्ट्रलाई स्थिरता, सुशासन र विकासको मार्गमा ल्याउन प्रतिबद्ध रहेको बताउँदै नेता–कार्यकर्तालाई संगठन सुदृढीकरण र जनतासँगको निरन्तर सम्पर्कमा जोडिन आग्रह गर्नुभयो। उहाँका अनुसार एमालेको भूमिकाले मात्र देशलाई वर्तमान अराजक अवस्थाबाट सुरक्षित मार्गतर्फ लैजान सक्छ।

कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री तथा एमाले पोलिटब्युरो सदस्य यामलाल कंडेलले आउँदो निर्वाचनमा एमाले एक्लै बहुमतसहित अगाडि आउने आवश्यकता औँल्याउँदै मुलुकको दिगो स्थिरता पार्टीकै हातमा रहेको दाबी गर्नुभयो। ‘जनताको रोजाइमा पहिलो पार्टी एमाले नै हो, अब नेता–कार्यकर्ता सबै एकताबद्ध भएर अघि बढ्नु जरुरी छ,’ उहाँले भन्नुभयो।

त्यसैगरी, एमाले दैलेख जिल्ला कमिटीका अध्यक्ष सूर्यबहादुर शाहीले जेनजी आन्दोलनपछि बनेको वर्तमान सरकार असंवैधानिक रहेको आरोप लगाउँदै विघटित प्रतिनिधि सभालाई पुनःस्थापना गरे मात्र मुलुकले वास्तविक दिशानिर्देश पाउने बताउनुभयो। उहाँका अनुसार एमाले र जनता एक भएर अघि बढे मात्र मुलुक सङ्कटमुक्त बन्न सक्छ।

अध्यक्ष शाहीले कार्यकर्तालाई संगठन मजबुत बनाउन, जनतासँग प्रत्यक्ष सम्पर्क विस्तार गर्न र राजनीतिक अस्थिरता अन्त्य गर्न सक्रिय भूमिकामा उभिन अपिल गर्नुभयो।