जनता टाइम्स

३० कार्तिक २०८२, आईतवार २१:२७

एमालेकाे पक्षामा देखिएकाे जनलहर सामान्य भिड होइन, इतिहास बोकेको संघर्षशील शक्तिको उठान हो : रामकुमारी झाँक्री


काठमाडौं, कात्तिक ३० । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले प्रतिगमनविरुद्ध एमालेले सुरु गरेको जनप्रदर्शनलाई सामान्य भीडका रूपमा नहेर्न आग्रह गर्नु भएकाे छ ।

सो अभियानमा देखिएको जनउभार देशको ऐतिहासिक रूपान्तरणसँग जोडिएको संघर्षको परिणाम भएको उहाँले टिप्पणी गर्नुभएको छ। उहाँका अनुसार सडकमा देखिएको लहर केवल फुर्सदिला बेरोजगारहरूको भीड होइन, परिवर्तनका लागि रगत–पसिनासहित दशकौँ लामो समय लगानी गरेर संगठित भएका योद्धाहरूको सङ्घर्षको निरन्तरता हो। नेतृ झाँक्रीले भन्नुभयो, ‘यो जनलहर सामान्य भिड होइन, फुर्सदिला बेरोजगारहरूको भीड त झनै होइन, यो लहर लामो इतिहास बोकेको पार्टी र परिवर्तन–रूपान्तरणका यात्रामा जीवन अर्पण गरेका योद्धाहरूको लहर हो।’

उहाँका अनुसार देशमा भएका ठूला राजनीतिक परिवर्तनहरू यिनै वर्ग, यिनै मान्छेहरूको लामो संघर्ष र प्रतिबद्धताका कारण सम्भव बनेका हुन्।उहाँले एमाले तथा वाम आन्दोलनले महिला, दलित, जनजाति, सिमान्तकृत वर्ग र समुदायलाई राज्यको मूलधारमा ल्याउन ऐतिहासिक भूमिका खेलेको उल्लेख गर्दै भन्नुभयो, ‘जुन समुदायलाई इतिहासले वर्षौँ छायामा राख्यो, तिनलाई राज्यको मूलप्रवाहमा ल्याउने काम यिनै नेतृ–कार्यकर्ताले गर्नुभयो, देशमा प्रजातन्त्र, मानव अधिकार, सामाजिक न्यायको प्रत्याभूति गराउने संघर्ष पनि यही दल र यही मानिसहरूको योगदान हो।’

नेतृ झाँक्रीका अनुसार संघर्षको वास्तविक मूल्य बुझ्न लामो त्याग, धैर्यता र प्रत्यक्ष मैदानमा ओर्लने साहस आवश्यक छ। ‘मोबाइलको स्क्रिनमा देखिने दुई–चार मिनेटको सामग्रीले इतिहासको मूल्य, त्याग र योगदान बुझाउँदैन,’ उहाँले भन्नुभयो।

पार्टीका हजारौँ समर्पित कार्यकर्तालाई ‘झोले’ जस्ता शब्दले गाली गर्नु केवल तिनीहरूको अपमान मात्र नभई इतिहासकै अवमूल्यन भएको टिप्पणी पनि उहाँले गर्नुभयो  । उहाँले संगठन निर्माणका क्रममा मेलापात, गाउँघरदेखि आँगन–दैलोसम्म सञ्चित सम्बन्ध र जनविश्वासलाई नयाँ पुस्तासामु पुर्याउन नसक्नु एमालेकै कमजोरी रहेको स्वीकार गर्दै त्यो सुधारतर्फ पार्टी अग्रसर भएको बताउनुभयो। ‘समाजको वास्तविकता, सामाजिक न्याय र राज्यका संरचनाबारे बुझाउन नसक्नु हाम्रै गल्ती हो, अब हामी सच्चिन चाहन्छौँ,’ उहाँको भनाइ छ।

नेतृ झाँक्रीले भदौ २३ र २४ गतेका घटनामा प्रेस स्वतन्त्रता कमजोर बनेको संकेत गर्दै, शक्ति कुन दिशातर्फ सर्दैछ भन्ने कुरा हेरिरहन आमसञ्चारले केवल ‘सुरक्षित प्रेस स्वतन्त्रता’ को अवसर पर्खिएको जस्तो अनुभूति भएको उल्लेख गर्नुभयो।

उहाँले नवयुवा पुस्तालाई राजनीतिक भुइँचालोको नाममा नयाँ–नयाँ ‘दोकान’ खोल्दै हिँड्ने संस्कृति त्यागेर इतिहास बोकेको दललाई आधुनिक रूपले सञ्चालन गर्न अघि सर्न आह्वान गर्नुभयाे । उहाँले भन्नुभयो, ‘नवयुवा साथीसबैले नयाँ पार्टी खोज्नु पर्दैन, पुरानै दललाई नयाँ ढङ्गले चलाऔँ, मार्ग यही हो।’