जनता टाइम्स

१ मंसिर २०८२, सोमबार ११:५७

रामेछापको उमाकुण्डमा भाइरल फ्लुको कारण बन्द विद्यालय तीन दिनमा खुले, विद्यार्थीको उपस्थित न्यून 


रामेछाप, मंसिर १ । विद्यार्थीहरूमा ज्वरो र रुघाखोकीजस्ता लक्षण देखिन थालेपछि बढेको स्वास्थ्य जोखिमका कारण बन्द गरिएका उमाकुण्ड गाउँपालिकाका विद्यालयहरू तीन दिनपिछ आज पुनः स्वास्थ्य सावधानीसहित सञ्चालनमा आएका छन्।

भाइरल फ्लुको सङ्क्रमण बढ्दै गएपछि गाउँपालिकाले कात्तिक २८ देखि ३० गतेसम्म पठनपाठन स्थगित गर्ने निर्णय गरेको थियो। केही विद्यालयले स्थिति गम्भीर हुन थालेपछि यसअघि नै कक्षा रोकिरहेका थिए।

गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख ङावा शेर्पाका अनुसार स्थानीय विद्यालयमा भाइरल फ्लुको सङ्क्रमण तीव्र रूपमा फैलिन थालेपछि कक्षाहरू बन्द गर्नुपर्ने अवस्था आएको थियो। “आजदेखि सबै विद्यालय खुलेका छन्, तर विद्यार्थीको उपस्थिति सामान्यभन्दा कम देखिएको छ,” उहाँले जानकारी दिनुभयो।

फ्लुको जोखिम अझै नघटेको ठहर गर्दै गाउँपालिकाले सबै विद्यालयलाई अनिवार्य रूपमा स्वास्थ्य सावधानी अपनाउन निर्देशन दिएको छ। यसअन्तर्गत मास्क अनिवार्य प्रयोग, कक्षाकोठा र आयोजनास्थलको नियमित स्यानिटाइजेसन, सम्भव भएसम्म भीडभाड कम गर्ने र स्वास्थ्य समस्या देखिएका विद्यार्थीलाई कक्षा उपस्थित नगराउने जस्ता प्रबन्धहरू अपनाउन विद्यालयहरूलाई भनिएको छ।

गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार भाइरल फ्लुको सामान्य प्रकृतिका लक्षण भएका विद्यार्थी तथा स्थानीयवासीलाई तीन दिन घरमै विश्राम गराएपछि सङ्क्रमण फैलिने जोखिम न्यून हुने निष्कर्ष निकालिएको छ। त्यसैले कात्तिक २८–३० को बन्दपछि आजदेखि पठनपाठन सुचारु गरिएको स्वास्थ्य शाखाले जनाएको छ।

यसबीच, संक्रमणका गम्भीर लक्षण देखिएका पाँच जनाको नमुना ‘स्वाब परीक्षण’का लागि काठमाडौँ पठाइएको स्वास्थ्य शाखाले बताएको छ। परीक्षणको रिपोर्ट आएपछि आवश्यक थप कदमबारे निर्णय लिने तयारी गाउँपालिकाले गरेको छ।