काठमाडौं, मंसिर १ । आज बसेको अखिल नेपाल स्वतन्त्र बिध्यार्थी युनियन (अनेरास्ववियु) को बैठकले अध्यक्ष सुजन कडरियाको राजीनामा स्वीकृत गरेको छ।
अध्यक्ष कडरियाको राजीनामा स्वीकृतिसँगै अध्यक्षमा दिपक धामी र महासचिव अन्जना शिवाकोटीलाई जिमेवारी दिइएकाे छ । धामी यस अघि महासचिव र शिवाकाेटी उपाध्यक्ष हुनुहुन्थ्याे ।
जेन-जी आन्दोलनमा विद्यार्थी मारिएको विषयमा असन्तुष्टि जनाउँदै कडरियाले राजीनामा घोषणा गर्नुभएकाे थियाे । अवस्था सामान्य बनेपछि संगठनमा फर्कन खाेजे पनि तिब्र आलाेचना भएपछि पदाधिकारी बैठकले कंडरियाकाे राजीनामा स्विकृत गरेकाे हाे ।
राजीनामा स्वकृत भएसँगै कडरियाले अग्रज तथा सहयोद्धाप्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुभएकाे छ उहाँले भन्नुभएकाे छ, “यस यात्रामा मलाई साथ, मार्गदर्शन र प्रेरणा दिनुहुने सबैप्रति म सदैव कृतज्ञ रहनेछु, आजबाट विद्यार्थी आन्दोलनमा बिताएका तिता–मिठा क्षणहरू औपचारिक रूपमा समाप्त भएका छन्।”
कडरियाले आफ्नो कार्यकालमा कसैप्रति जानाजान वा अनजानेमा गल्ती वा कडा व्यवहार भएको भए हृदयदेखि क्षमा प्रार्थी भएको उल्लेख गर्नुभएकाे छ । उहाँले अनुभव, संघर्ष र उतार–चढाव यही यात्रासँगै टुङ्गिएको र अब पार्टी जीवनमा पूर्ण समर्पणका साथ प्रवेश गर्दै नेकपा एमालेको इमानदार सिपाहीको रूपमा निरन्तर काम गर्ने प्रतिज्ञा गर्नुभएको छ।
उहाँले बैठकबाट जिम्मेवारी पाएका अध्यक्ष दिपक धामी र महासचिव अन्जना शिवाकोटी सहित सम्पूर्ण नेतृत्वलाई हार्दिक बधाई र शुभकामना व्यक्त गर्नुभएकाे छ। भदौ २३ गतेको आन्दोलनमा प्रहरीको गोलीले विद्यार्थीको रगत बगेको क्षणसँगै आफ्नो अनेरास्ववियु यात्रा समाप्त भएको सत्यलाई आजको बैठकले आधिकारिक मान्यता दिएकोमा उहाँले सम्मान व्यक्त गर्नुभएकाे छ ।
कडरियाले यससँगै विद्यार्थीको हक–हित र अधिकारका पक्षमा बुलन्द स्वर उठाउने संगठन अनेरास्ववियु नै हो भन्ने तथ्य पुनः प्रमाणित भएको बताउँदै, निर्णयमा पार्टीको कुनै हस्तक्षेप नभएको र सार्वभौम कमिटीको सर्वसम्मतिले पारित निर्णयलाई देशभरका सबै देशभक्त विद्यार्थीले पालना गर्नुपर्ने अपिल गर्नुभएकाे छ ।













प्रतिक्रिया दिनुहोस्