जनता टाइम्स

१ मंसिर २०८२, सोमबार १८:५९

महेश बस्नेतको उद्घोष : देश विकासको हरेक मोडमा केपी ओली र एमालेको याद आइरहन्छ


काठमाडौं, मंसिर १ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले देश विकासका महत्त्वपूर्ण चरणमा ‘एमाले र अध्यक्ष केपी शर्मा ओलीको भूमिका जनताले पुनः स्मरण गर्न थालेको’ तथ्य औंल्याउनु भएको छ ।

सोमबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा संघ नेपालको वाग्मती प्रदेशस्तरीय युवा जागरण भेला कार्यक्रमलाई सम्बोधन गर्दै युवा नेता बस्नेतले हालै आइतवार साँझ मात्रै उदघाटन भएको त्रिबि क्रिकेट रङ्गशालाको प्रसंग जोडेर यस्तो तथ्य औंल्याउनु भएको हो । उहाँले ‘केपी ओलीको कार्यकालको उपलब्धि पुनः चर्चामा आएको’ टिप्पणी गर्नुभयो।

बस्नेतका अनुसार केपी ओली नेतृत्वमा सरकारले अघि बढाएको क्रिकेट मैदान निर्माण परियोजनामा केही ढिलाइ भए पनि अन्ततः सम्पन्न भएको छ । ‘त्यही निर्माणलाई उद्घाटन गर्ने व्यक्तिहरूले व्यङ्ग्यात्मक टिप्पणी गर्नु विडम्बनापूर्ण’ रहेको उहाँले बताउनु भयो।

उहाँले भन्नुभयो, ‘केपी ओलीले पहिलो निर्णय नै क्रिकेट मैदानको विकासलाई तीव्र रूपमा अगाडि बढाउने थियो, ढिलाइ भए पनि काम सम्पन्न भयो, केपी ओलीले बनाइदिएको रङ्गशाला उद्घाटन गर्न आउने मान्छेहरूले सामाजिक सञ्जालमा आफूलाई हिरो झैँ प्रस्तुत गर्नुभयो, क्रिकेट संघका अध्यक्षदेखि पारस खड्कासम्मले दिएको व्यङ्ग्यात्मक वक्तव्यले फेरि एमाले र ओलीको कामको चर्चा गराइदियो।’

कार्यक्रममा बस्नेतले हालको ‘जेनजी आन्दोलन’लाई देशभित्रको स्वस्फूर्त राजनीतिक आन्दोलन नभई ‘विदेशी शक्तिबाट सञ्चालित नेपालको स्थायित्वविरुद्धको आक्रमण’ भएको दाबी गर्नुभयो। ध्वंस मच्चाउन सुधन गुरुङ सम्बद्ध ‘हामी नेपाल फाउन्डेशन’ लगायतका संस्थामार्फत ५०–६० अर्ब रुपैयाँसम्म लगानी भएको समेत भएको उहाँले बताउनुभयो । उहाँका अनुसार सामाजिक सञ्जालमार्फत उचालिएको युवा असन्तोषलाई ‘विद्रोह’का रूपमा प्रस्तुत गरिए पनि वास्तविकता भने शक्ति केन्द्रहरूको रणनीति थियो।

जेनजी पुस्तालाई दुरुपयोग गरेर देशमा ध्वंस मच्चाइएको उहाँले बताउनु भयो । ‘जेनजी पुस्तालाई उचालेर नेपालमा विद्रोह गराइयो, त्यो आन्दोलन थिएन, त्यो त मुलुकमाथिको आक्रमण थियो, उक्त आक्रमणका लागि विदेशी शक्तिहरूले हामी नेपाल जस्ता संस्थामार्फत ५०–६० अर्ब लगानी गरेका थिए होला, बालेन साह र सुधन गुरुङजस्ता व्यक्तिहरू विदेशी एजेण्डाबाट खडा गरिएका थिए’, बस्नेतले भन्नुभयो ।