जनता टाइम्स

२६ बैशाख २०७६, बिहीबार १८:४४

काठमाडौं प्रहरीको नेतृत्व सम्हालेसँगै एसएसपी सुवेदीको घोषणा : टोले गुण्डाहरुको हिसावकिताव हुन्छ


गलत बाटोमा लागेकालाई पहिले सम्झाइ बुझाइ गर्ने हो । होइन भने टोले गुन्डाहरुको हिसाबकिताब हुन्छ, उम्रिदैका तीनपातेहरुविरुद्ध कानुनी कठोरता अपनाइन्छ

काठमाडौं, बैशाख २७

महानगरीय प्रहरी परिसर काठमाडौंको नेतृत्व सम्हाल्नु भएका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीले टोले गुण्डाको हिसाबकिताब गर्ने घोषणा गर्नुभएको छ ।

काठमाडौं परिसरको कमाण्ड सम्हालेलगत्तै एसएसपी सुवेदीले सो अठोट सार्वजनिक गर्नुभएको हो । नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी पूरा गरी आज मात्रै परिसरको कमाण्ड सम्हाल्नुभएका एसएसपी सुवेदीले आपराधिक क्रियाकलापमा संलग्न जोकोहीलाई कानुनी दायरामा ल्याउनु आफ्नो पहिलो उद्देश्य रहेको जानकारी दिनुभयो । ‘गलत बाटोमा लागेकालाई पहिले सम्झाइ बुझाइ गर्ने हो । होइन भने टोले गुन्डाहरुको हिसाबकिताब हुन्छ, उम्रिदैका तीनपातेहरुविरुद्ध कानुनी कठोरता अपनाइन्छ,’ एसएसपी सुवेदीको भनाई छ ।

सुवेदीले नागरिकसँगको सहकार्यमा काठमाडौंलाई अपराधमुक्त बनाउने लक्ष्य लिनुभएको छ । ‘काठमाडौंमा अब नागरिक सहकार्यलाई झनै व्यापक बनाइन्छ । प्रहरी कार्यालयमा नागरिकले छुट्टै किसिमको रेस्पोन्स पाउनेछन,’ सुवेदीले भन्नुभयो । सुवेदीले परिसरमा अघिल्ला नेतृत्वले ल्याएका सफल कार्यक्रमको कार्यान्वयनलाई पनि जोड दिइने बताउनु भयो ।

‘अहिले सामाजिक विकृतिका कारणले सिर्जित अपराधको दर बढी देखिन्छ । त्यसविरुद्ध जनचेतना जरुरी छ, म यसतर्फ पनि लाग्नेछु,’ एसएसपी सुवेदीको भनाई थियो । सुवेदीले हाल काठमाडौंको शान्ति सुरक्षा सन्तोषजनक भएको आफ्नो निश्कर्ष पनि सुनाउनु भयो । ‘शान्ति, सुरक्षा कहिल्यै सतप्रतिशत हुँदैन । तर, हालको स्थितिलाई नराम्रो भन्न मिल्दैन,’ उहाँको भनाई छ ।