काठमाडौं,मंसिर २ । नेकपा (एमाले) केन्द्रीय संगठन विभागको बैठक आज बसेको छ।
विभागका प्रमुख काशीनाथ अधिकारीको अध्यक्षतामा च्यासलमा बसेको बैठकले पार्टीको महाधिवेशन प्रतिनिधि छनोटको विषयमा छलफल गरेको छ । पार्टीका उपाध्यक्ष विष्णु पौडेल तथा महासचिव शंकर पोखरेल समेतका उपस्थितिमा भएको बैठकमा आसन्न एघारौँ महाधिवेशनको प्रतिनिधिसँग सम्बन्धित विषयमा थप स्पष्ट पार्न छलफल भएको पार्टी संगठन विभाग सचिव माधव ढुङ्गेलले जानकारी दिनुभयो ।
बैठकमा महाधिवेशनमा हुने प्रतिनिधित्वका विषयमा स्पष्ट पारिएको उहाँले जानकारी दिनुभयो । प्रतिनिधि छनोटका लागि मंसिर १३ गतेसम्म सर्वसम्मत वा मतदान प्रक्रियाबाट भए पनि निर्वाचन सम्पन्न गरिसक्नु पर्ने र १५ गते भित्र पार्टी केन्द्रीय कार्यालयमा विवरण पठाउनु पर्ने निर्णय भएको ढुङ्गेलले जानकारी दिनुभयो ।
त्यसका लागि आवश्यक समन्वय गर्नका लागि संगठन विभागका सदस्यहरूलाई जिम्मेवारी समेत दिइएको उहाँले बताउनुभयो । ‘ पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशनको विषयमा थप स्पष्ट हुने काम भयो, प्रक्रिया जहिले सुरु गरे पनि मंसिर १३ गतेसम्म प्रतिनिधि छनोटको काम टुङ्गिनु पर्छ र १५ गते भित्र प्रतिनिधिको नाम केन्द्रमा आइसक्नु पर्छ’, उहाँले भन्नुभयो ।
एमालेको एघारौँ महाधिवेशन मंसिर २७ देखि काठमाडौंमा हुँदै छ । पार्टी नेतृत्व अहिले त्यसकै तयारीमा केन्द्रित छ ।












प्रतिक्रिया दिनुहोस्