काठमाडौँ, मंसिर २। माधवकुमार नेपाल नेतृत्वमा रहेको नेकपा (एकीकृत समाजवादी) का कोशी प्रदेश कमिटी सदस्यसहित विराटनगर महानगर समिति नै नेकपा (एमाले) मा समाहित भएको छ। सोमबार विराटनगरमा बसेको एमाले कोशी प्रदेश कमिटीको नवौँ पूर्ण बैठकका क्रममा ‘घर फर्क राष्ट्रिय अभियान’ अन्तर्गत साे टिमलाई समायोजन गरिएको हो।
एमालेले पछिल्ला चरणमा पार्टी परित्याग गरी अन्य दलमा प्रवेश गरेका नेता–कार्यकर्तालाई पुनः सक्रिय बनाउन घर फर्क अभियान सञ्चालन गर्दै आएको छ। यही अभियानअन्तर्गत एकीकृत समाजवादीका नेताहरूलाई पुनः पार्टीमा स्वागत गरिएको एमाले केन्द्रीय सदस्य तथा मोरङ इञ्चार्ज जीवन घिमिरेले जानकारी दिनुभयो। उहाँका अनुसार विराटनगर महानगर समिति मात्र नभई कोशी प्रदेश कमिटी र मोरङ जिल्ला कमिटीका नेता–कार्यकर्ता समेत एमालेमा फर्किएका छन्।
एमालेमा समाहित हुनुभएकामध्ये एकीकृत समाजवादीका कोशी प्रदेश कमिटी सचिवालय सदस्य डा. उद्धव पोखरेलले एमाले आफूहरूले पनि रगत–पसिना बगाएर बनाएको पार्टी भएकाले केही समय बाहिर बसे पनि फेरि ‘घर फर्किएको’ बताउनुभयो। पार्टीसँग केही समय रिस–ईर्ष्याका कारण दूरी बढे पनि नेपाली कम्युनिष्ट आन्दोलनको मूलधारमा पुनः समाहित हुन पाउँदा खुसी लागेको उहाँको भनाइ थियो।
एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले पार्टीमा लामो समय योगदान दिनुभएका नेताहरू पुनः फर्कँदा पार्टीले जिम्मेवारीसहितको स्थान दिने स्पष्ट गर्नुभयो। उहाँका अनुसार वर्तमान राजनीतिक सन्दर्भमा लोकतन्त्रलाई बलियो बनाउने शक्ति एमालेबाहेक अरू हुन नसक्ने धारणा पार्टीले राख्दै आएको छ।
घर फर्क अभियानअन्तर्गत प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी सदस्य र विराटनगर महानगर समितिसहित झन्डै ८० भन्दा बढी नेता–कार्यकर्ता एमालेमा समाहित भएको एमाले महानगर कमिटीका अध्यक्ष बलराम गिरीले जानकारी दिनुभयो। उहाँका अनुसार केन्द्रीय महाधिवेशनअघि मोरङका अन्य स्थानीय तहका समिति पनि क्रमशः एमालेमा समाहित हुँदै गइरहेका छन्।













प्रतिक्रिया दिनुहोस्