जनता टाइम्स

२६ बैशाख २०७६, बिहीबार १९:१३

प्रचण्ड र सीता दोस्रो पटक बेहुला–बेहुली, छोरीले गराइ दिए पुनः बिवाह


काठमाडौं, बैशाख २६

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पत्नी सीता दाहालसँग दोस्रोपल्ट बिहे गर्नुभएको छ । बिगत केही समयदेखि अस्वस्थ रहदै आउनु भएकी पत्नी सीताको मन राख्न प्रचण्डले आज दोस्रो पटक बिहे गर्नुभएको हो ।

प्रचण्ड र सीताबीच बिवाह भएको ५० औं वर्षगाँठका अवसरमा आज बाजागाजा र जन्तीसहित पुनः विवाह भएको हो । प्रचण्ड र सीताबीच पहिलो विवाह २०२६ साल वैशाख २६ गते भएको थियो । अचानक पुत्र प्रकाश दाहालको निधन भएपछि सीताको स्वास्थ्य स्थिति बारम्बार बिग्रँदै आएको छ । पत्नी सीताको स्वास्थ्योपचारमा मनोवैज्ञानिक रुपले सकारात्मक प्रभाव पर्ने अपेक्षा गरी प्रचण्डले आज पुनः बिवाह गर्नुभएको हो ।

विवाह समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा, कार्यबाहक प्रधानमन्त्री इश्वर पोखरेल, नेकपाका नेताहरु माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, महासचिव विष्णु पौडेलसहित स्थायी कमिटीका अधिकांश नेताहरु उपस्थित हुनुभएको छ । यस्तै, केन्द्रीय कमिटी सदस्यहरु, पार्टी कार्यकर्ता र प्रचण्डका नातेदार लगायतको सहभागिता रहेको थियो ।
विवाह समारोहमा महिलाहरुले पञ्चैबाजा बजाएका थिए । प्रचण्ड निवास नजिकै सुनाकोठीमा भएको विवाह कार्यक्रम आयोजना गरिएको थियो । बुबा–आमाको दोस्रो विहेमा दुई छोरी, बुहारी निकै खुसी देखिएका थिए ।

‘प्रचण्ड’ र सीता दाहालबीच विवाह भएको आज ५० वर्ष पुगेको छ । कास्की ढिकुरपोखरीमा जन्मनु भएका अध्यक्ष प्रचण्डले छिमेकी गाउँ हेङ्जाकी सीतासँग १५ वर्षको उमेरमा २०२६ सालमा मागी विवाह गर्नुभएको थियो । प्रचण्ड र सीताका परिवार पुख्यौली थलो कास्कीबाट बसाई सरेर चितवन झर्नुभएको थियो । चितवनमा पनि उहाँहरूको घर नजिकै थियो । विवाह भएको ५० वर्ष पुगेको अवसरमा छोरीहरू रेणु र गंगाले आज अपरान्ह ५ बजे खुमलटारस्थित एक पार्टी प्यालेसमा पुनः विवाह गराउने कार्यक्रम आयोजना गर्नुभएको हो । कार्यक्रममा आफन्त, पार्टीका केही नेता र मन्त्रीहरुलाई निम्तो गरिएको छ ।

दाहाल जोडीका चार सन्तानमध्ये रेणु भरतपुर महानगरकी मेयर हुनुहुन्छ भने अर्की छोरी गंगा निजी सचिवालयको जिम्मेवारी समाल्नु भएको छ । जेठी छोरी ज्ञानु र छोरा प्रकाशको भने निधन भइसकेको छ । झण्डै १३ वर्ष भूमिगत जीवन बिताउँदा प्रचण्ड पत्नी सिता पनि सँगै हुनुहुन्थो । दश वर्षसम्म चलेको जनयुद्धको नेतृत्व गर्नुभएका प्रचण्ड २०६२÷०६३ को जनआन्दोलनपछि सुरू भएको शान्ति प्रक्रियापछि खुला राजनीतिमा आउनुभएको थियो ।

२०६४ सालको संविधानसभा निर्वाचनपछि बनेको सरकारमा प्रचण्ड पहिलो पटक प्रधानमन्त्री बन्नुभएको थियो । त्यसको झन्डै नौ वर्षपछि उहाँ दोस्रो पटक प्रधानमन्त्री बन्नुभएको थियो । यतिवेला एमाओवादी र नेकपा एमालेबीच एकतापछि बनेको नेकपामा प्रचण्ड अध्यक्ष हुनुहुन्छ । पत्नी सीता बिरामी भएपछि उहाँलाई पछिल्लो समय अमेरिकामा उपचार गराइएको थियो ।

सीता पार्किन्सन्स रोगबाट पीडित हुनुहुन्छ । पछिल्लो समय सीताको शारीरिक अवस्था कमजोर बन्दै गएको छ । यस पुनः विवाहले सिता दाहालको स्वास्थ्य अबस्था सुध्रने र मानसिक रुपले सकारात्मक प्रभाव पर्ने अपेक्षा प्रचण्ड परिवारले राखेको छ ।