जनता टाइम्स

३ मंसिर २०८२, बुधबार २१:४५

वाग्मती प्रदेशको स्वास्थ्य सेवा सुधारका लागि १३ बुँदे प्रतिबद्धता सार्वजनिक 


काठमाडौं, मंसिर ३ । वाग्मती प्रदेश सरकारले स्वास्थ्य सेवा सुधारका लागि १३ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ ।

प्रदेशभित्रका स्वास्थ्य संरचना, सेवा प्रणाली र सुशासनलाई आधुनिक एवं प्रभावकारी बनाउने लक्ष्य सहित सो प्रतिबद्धता जाहेर गरिएको हो। हेटौँडामा स्वास्थ्य निर्देशनालयले आयोजना गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक समीक्षा गोष्ठीमार्फत स्वास्थ्य मन्त्रालयले आगामी वर्षदेखि डिजिटल स्वास्थ्य सेवा, विशेषज्ञ सेवा, नसर्ने रोगको रोकथाम तथा आपत्कालीन तयारीलाई विशेष प्राथमिकतामा राख्ने योजना प्रस्तुत गरेको छ ।

आगामी आर्थिक वर्ष २०८२/८३ देखि प्रदेश मातहतका सबै अस्पताल र आयुर्वेद चिकित्सालयहरूमा इलेकट्रोनिक्स मेडिकल रेकर्ड प्रणाली पूर्ण रूपमा लागू गरिने घोषणा गरिएको छ। वागमती प्रदेश हेल्थ डिजिटालाइजेसन अवधारणाअन्तर्गत भक्तपुर, हेटौँडा र त्रिशूली अस्पताललाई हब अस्पतालका रूपमा विकास गरी यी अस्पतालमार्फत कम्तीमा १५ वटा अन्य अस्पताललाई स्याटेलाइटका रूपमा जोडेर टेलिमेडिसिन सेवा सुरु गर्ने तयारी गरिएको प्रदेश सरकारले जनाएको छ। यसले विशेष गरी ग्रामीण तथा दुर्गम क्षेत्रमा विशेषज्ञ सेवा पहुँचयोग्य बनाउने विश्वास व्यक्त गरिएको छ।

प्रदेश सरकारले नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणलाई शीर्ष प्राथमिकतामा राख्दै स्थानीय तहसँगको समन्वयमा प्रदेशका सबै वडामा नसर्ने रोगको निःशुल्क परीक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय लिएको छ। नागरिकलाई स्वस्थ जीवनशैलीतर्फ अभिमुख गराउन ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी, एक घण्टा मेरा लागि’ जस्ता अभियानलाई विस्तार गरी योग, ध्यान र प्राणायाम कार्यक्रमहरूलाई पनि सुदृढ बनाइने जनाइएको छ।

विशेषज्ञ सेवाको अभाव रहेको अस्पतालहरूलाई लक्षित गर्दै ‘प्रदेश विशेषज्ञ चिकित्सा सेवा प्रोत्साहन कार्यक्रम’ लागू गरिने प्रतिबद्धता व्यक्त गरिएको छ। त्यस्तै, स्वास्थ्य सेवा पहुँचबाट टाढा रहेका दुर्गम बस्तीहरूमा स्थानीय तहसँगको सहकार्यमा विशेषज्ञसहितको एकीकृत स्वास्थ्य तथा पोषण प्रवर्धन अभियान सञ्चालन गरिने जनाइएको छ। यस अभियानमा निजी अस्पतालहरूको पनि सहभागिता रहने व्यवस्था मिलाइनेछ, जसले प्रदेशव्यापी सेवा प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

स्वास्थ्य सेवा प्रणालीमा सुशासन र पारदर्शिता कायम गर्न प्रदेश सरकारले ‘प्रदेश स्वास्थ्य सुशासन सूचक’ तयार गरी सबै स्वास्थ्य कार्यालयको मूल्याङ्कन गर्ने तयारी गरिएकाे छ। सबै प्रकारका खरिद प्रक्रिया बोलपत्रमार्फत अघि बढाइने, पुराना तथा काम नलाग्ने उपकरणहरू लिलामी गरी जिन्सी व्यवस्थापन सुधार गर्ने, काठमाडौँ उपत्यका र ठूला सहरमा अस्थायी बसोबास गर्ने तथा चलायमान समुदायलाई विशेष नक्साङ्कनका आधारमा स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था मिलाइने मन्त्रालयले जनाएको हो।

आपत्कालीन स्वास्थ्य सेवा अझ प्रभावकारी बनाउन प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई सुदृढ बनाइनेछ। साथै, सबै जिल्लामार्फत स्वास्थ्य आपत्कालीन कार्ययोजना अद्यावधिक गर्दै प्रदेश स्वास्थ्य नीति, २०८१, प्रदेशको दोस्रो आवधिक योजना तथा स्वास्थ्यसम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय लक्ष्यहरू हासिल गर्न समन्वित रूपमा अघि बढ्ने प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ।