जनता टाइम्स

६ मंसिर २०८२, शनिबार २१:११

रामेछापको उमाकुण्डमा आयुर्वेदिक स्वास्थ्य शिविर, बिहानदेखि साँझसम्म सेवा लिनेको भिड 


रामेछाप, मंसिर ६ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले उमाकुण्ड गाउँपालिकाको सहकार्यमा उमाकुण्डको प्रीतिमा सञ्चालन गरिएको एक दिने आयुर्वेदिक स्वास्थ्य शिविरमा ठुलो सङ्ख्यामा नागरिकले सेवा लिएका छन् ।

शनिबार सञ्चालन भएको शिविरमा करिब ३ सय जनाले स्वास्थ्य सेवा लिएका छन् । शिविरमा नागरिकहरूको रक्तचाप, सुगर सहित विभिन्न रोगको परीक्षण, उपचार र निःशुल्क औषधि वितरण गरिएको थियो ।

आयुर्वेद चिकित्सक डा. अच्युत रिमाल नेतृत्वको टोलीले स्वास्थ्य परीक्षण तथा उपचार गरेको थियो ।

कार्यक्रममा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापको सञ्चालन तथा व्यवस्थापन समिति अध्यक्ष नवराज पथिकले चिकित्सालयले जिल्लाका सबै स्थानीय तहमा स्थानीय तहसँग सहकार्य गरी शिविर सञ्चालन गर्ने योजना बनाएको जानकारी दिनुभयो । यसका लागि आवश्यक सहयोग र सहकार्य गर्न समेत उहाँले स्थानीय तहसँग अनुरोध गर्नुभयो ।

गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले अहिले आयुर्वेदिक उपचार पद्धतिबाट धेरै रोग नियन्त्रण र निवारणमा सहयोग पुगेकोले गाउँपालिकाले आयुर्वेद तथा वैकल्पिक चिकित्सालयसँग सहकार्य गरी शिविर आयोजना गरिएको जानकारी दिनुभयो ।

निःशुल्क स्वास्थ्य शिविरले नागरिकलाई सेवा प्रवाहमा निक्कै सहयोग पुगेको गाउँपालिका उपाध्यक्ष सावित्री सुनुवारले बताउनुभयो ।

शिविरमा स्थानीयको ठुलो भिड लागेको थियो । सेवा लिनको लागि बिहानदेखि साँझसम्म स्थानीयको लाइन लाखेको थियो । यसले आयुर्वेदिक उपचार प्रति नागरिकको आकर्षण बढेको देखाएको छ ।