जनता टाइम्स

१२ मंसिर २०७६, बिहीबार ०८:५०

भाउजूले किशोरीलाई दिल्ली लगेर कोठीमा बेचेपछि


काठमाडौँ, मंसिर १२

नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोको अफिसियल फेसबुक पेजमा मंसिर ८ मा एउटा सन्देश आयो । सन्देशमा वैदेशिक रोजगारीमा रहेका एक व्यक्तिले १२ वर्षको उमेरमा घरबाटै हराएकी आफ्नी छोरी दिल्लीको वेश्यालयमा बेचिएकाले छिटोभन्दा छिटो उद्धार गर्न आग्रह गरेका थिए । सन्देश पाएपछि प्रहरीले तत्कालै अनुसन्धान अगाडि बढायो ।

किशोरीलाई दिल्लीको वेश्यालयसम्म पुर्‍याउने घटनाको सुरुवात ०७३ कात्तिकमा भएको थियो । त्यतिबेला दीपावलीको रौनक सुरु हुनै लागेको थियो । ९ कक्षामा पढ्ने किशोरीको मन भने भिन्नै कुराले तुलबुल भइरहेको थियो ।

काठमाडौंको पूर्वी भागमा बाबुआमासँग डेरा गरेर बसेकी उनलाई भाउजू (भाञ्जादाइकी श्रीमती) ले अनोठौ सपना देखाउँदै घरबाटै लिएर हिँडेकी थिइन् । भाउजूले उक्साउँदै भनेकी थिइन्, ‘पढेर के गर्छौ ? भारत जाम । होन्डा कम्पनीमा मासिक २० हजार आउने जागिर मिलाइदिन्छु ।’

नयाँ ठाम देख्न पाइने, रुचिअनुसारको कपडा लगाउन पाइने, मिठो खान पाइने र पैसा पनि कमाइने प्रलोभनको जालमा किशोरी परिहालिन् । उनलाई के थाहा, भाउजूले देखाएको नक्कली सपनाको बाटो हिँड्दा दिल्लीको कोठीमा पुगिन्छ भन्ने । अनि उनलाई के थाहा, नर्कजस्तो जिन्दगीको बाटोतर्फ आफूलाई हिँडाइएको छ भन्ने । भाउजूसँगको सल्लाहमा उनी खुसुक्क घरबाट निस्किइन् । भाउजूले उनलाई नजिकैको बसपार्कसम्म ल्याइदिइन् र लामा थरकी एक साथीको जिम्मा लगाइदिइन् । ती युवतीले उनलाई कोटेश्वर हुँदै महोत्तरीको ढल्केवर पुर्‍याइन् र सिम्रन भन्ने सीता लामालाई जिम्मा लगाइन् । सीताले किशोरीलाई वीरगन्ज लगेर एक रात राखी रक्सौल हुँदै दिल्ली पुर्‍याइन् ।

धनुषा बेंगाडाबर घर भई दिल्लीमा वेश्यालय सञ्चालन गरी बस्ने जोस्ना भनिने जुना खड्काले किशोरीलाई आफ्नो जिम्मामा लिइन् । प्रहरी अनुसन्धानले जुना र किशोरीकी भाउजूबीच पनि नातासम्बन्ध रहेको देखाएको छ । होन्डा कम्पनीको जागिर खाने सपना देखेकी किशोरी त्यतिबेला चकित परिन्, जतिबेला जुनाले उनलाई अश्लिल भिडियो देखाउँदै सोधिन्, ‘तिम्लाई यस्तो गर्न आउँछ ?’ जुनाका एक साथी थिए, दीपक । कलिली किशोरीलाई देखेपछि दीपकले भने, ‘यिनी नयाँ नै छिन्, तयार हुन एक महिना लाग्छ ।’ त्यसपछिका केही साता उनले जुनाकै घरमा सरसफाइको काम गरिन् ।

प्रहरीका अनुसार प्रत्येक दिन अश्लील सामग्री देखाउँदै किशोरीमा उत्तेजना ल्याउने प्रयास गरिएको देखिन्छ । जब उनीहरूलाई किशोरी तयार भइन् भन्ने लाग्यो, त्यसपछि नाम बदलेर सोनिया राखिदिए । दिल्ली पुगेको १५ औं दिन किशोरीलाई जुनाले जबर्जस्ती मदिरा ख्वाइदिइन् र एक ग्राहकसँग यौन सम्पर्कका निम्ति बाध्य पारिन् । किशोरीले प्रहरी बयानमा त्यस्तो कामबापत जुनाले ५० हजार भारतीय रुपैयाँ बुझेको बताएकी छन् ।

किशोरीलाई जुनाले लगाएको काम स्वीकार्य थिएन तर उनी परिबन्दमा परेकी थिइन् । घर फर्कन्छु भनेर जिद्दी गरेपछि जुनाले भनिन्, ‘तिम्लाई १५ हजारमा किनेको हो । पैसा फिर्ता गरे पठाइदिन्छु ।’ आफूलाई दिल्ली पुर्‍याइदिएबापत जुनाले १३ हजार रुपैयाँ र एउटा मोबाइल सेट भाउजूलाई पठाइदिएको बयान पनि किशोरीले दिएकी छन् । त्यसपछिका दिन सजिला रहेनन् । प्रत्येक दिन जबर्जस्ती मदिरा पिलाउने र यौन सम्पर्कका निम्ति बाध्य पार्ने क्रम चलिरह्यो । प्रत्येक दिन ३ देखि ५ जनासँग यौन सम्पर्कका निम्ति बाध्य पारिएको किशोरीले बताएकी छन् । उनले भनेकी छन्, ‘जुनाले एक रात ग्राहकसँग बसेबापत १५ हजार र एकपटक यौनसम्पर्क राखेबापत ५ हजार लिने गर्थिन् ।’ साँझ ढल्किन थालेपछि मानिसहरू आ–आफ्नो घरतिर कुद्थे । उनलाई भने वेश्यालय लगिन्थ्यो र ग्राहकसँग रात काट्न लगाइन्थ्यो । किशोरीले राति ९ देखि बिहान २–३ बजेसम्म आफूलाई विभिन्न ग्राहकसँग सुताइने गरेको प्रहरीलाई बताएकी छन् ।

जुनाले कतिपय ग्राहकसँग घन्टाअनुसार पनि रकम लिने गरेको किशोरीले बताइन् । बयानका क्रममा उनले आफूसहित तीन–चार किशोरीलाई केही पैसावालसँग घण्टौंसम्म सामुहिक यौन सम्पर्कका निम्तिसमेत बाध्य पारिएको बताएकी छन् । जुनाले बेला–बेला उनलाई सिंगार्न ब्युटीपार्लर लैजान्थिन् । नयाँ कपडा किन्दिथिन् अनि फोटो खिचेर विभिन्न ग्राहकलाई पठाउँथिन् । किशोरीलाई यौनधन्दाका निम्ति तयार पार्न भन्दै जुनाले हर्मोन वृद्धि गर्ने खालका औषधि इन्जेक्सनमार्फत दिएको देखिन्छ । उद्धार गरिएकी किशोरीलाई मानव बेचबिखन ब्युरोले वीर अस्पतालमा स्वास्थ्य परीक्षणका लागि पठाएको थियो । अनुसन्धानमा संलग्न एक अनुसन्धान अधिकारीले धेरै दूध दिनका निम्ति गाईलाई लगाइने इन्जेक्सनसमेत किशोरीलाई लगाएको सुनाए ।

अनुसन्धान अधिकारीका अनुसार दिल्लीको रानीबाग र रोहिणीमा दुईवटा फ्ल्याट लिएर जुनाले वेश्यावृत्तिको धन्दा चलाएकी थिइन् । जुनाको वेश्यालयमा चार जनासम्म किशोरीलाई यौनधन्दामा लगाइएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । आफ्नै फल्याटमा आउने ग्राहकका अलावा जुनाले किशोरीहरूलाई ग्राहकले भनेअनुसार विभिन्न होटलसम्म लैजाने गरेको देखिन्छ । पीडित किशोरीका अनुसार जुनाले ग्राहक भेटाउन भन्दै उनलाई नेपालको सिमानासम्म ल्याइपुर्‍याउँथिन् । किशोरीलाई आफ्ना बाबु र आमाको याद नआएको होइन् तर भाउजूको पछि लागेर भागेकै कारण बाबुआमासँग कसरी मुख देखाउने भन्ने भयले उनलाई गाँजिरह्यो । त्यसमाथि बेलाबखत आफ्नै फ्ल्याटमा आइपुग्ने भाउजूले भन्ने गर्थिन्, ‘भागेर कहीँ जाने कोसिस नगर । भाग्यौ भने तिमीलाई ठिक हुँदैन ।’ जुनाको निगरानी र भाउजूको धम्कीले उनी खुम्चिएरै बसिन् ।

ग्राहकसँग कुरा गर्न सजिलो होस् भनेर जुनाले उनलाई ल्यांग्वेज इन्स्टिच्युटमा पनि भर्ना गरिदिएकी थिइन् । भय, संकोच र लोकलाजले उनले आफ्नो ब्यथा कसैलाई भन्न सकिनन् । आफ्ना साथीहरूलाई उनी दिदीसँग बस्ने बताउँथिन् । अघिल्लो महिना जुना उनलाई फ्ल्याटमा एक्लै छाडेर नेपाल आइन् । त्यही बेला उनकी एक जना साथी उनीसँगै बस्न फ्ल्याटमा आइन् ।

भोलिपल्ट उनी तिनै साथीसँग उनको घरमा बस्ने गरी गइन् । साथीको बाबुआमा र परिवार देखेर उनलाई आफ्नो घर र बाबुआमाको याद आयो । उनले डराइडराइ साथीलाई परिबन्दको सबै कथा बताइन् । ती साथीले काठमाडौंमा रहेकी उनकी आमालाई छोरीको अवस्थाबारे बताइदिइन् । आमाले वैदेशिक रोजगारीमा रहेका बाबुलाई सुनाइन् । अनि बाबुले फेसबुक पेजमा सन्देश छाडे ।

सन्देश पाउनेबित्तिकै मानव बेचबिखन ब्युरोका अनुसन्धान अधिकारीले दिल्लीस्थित नेपाली दूतावासमा रहेका प्रहरी सहचारी एसएसपी राजन अधिकारीलाई किशोरीलाई उद्धार गर्न अनुरोध गरे । राजनले उद्धार गरेर किशोरीलाई नेपाल पठाइदिए । अनि प्रहरीले ९ गते धनुषाको बेंगाडाबरस्थित घर आएकी ३४ वर्षीया जुना र सीता लामालाई पक्राउ गर्‍यो । मानव बेचबिखन ब्युरोले फरार रहेकी भाउजूलाई पनि खोजिरहेको छ भने पक्राउ परेकाहरूलाई मानव बेचबिखन तथा ओसारपसार ऐनअन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाएको छ । ब्युरोले जुनाको पृष्ठभूमिबारे अनुसन्धान गरिसकेको छैन । अनुसन्धानमा संलग्न प्रहरीका अनुसार केही वर्ष अघिसम्म जुना भारतमै बस्ने नेपालीसँग मिलेर अवैध रूपमा वैदेशिक रोजगारीमा नेपाली युवा पठाउने कामसमेत गर्थिन् । (कान्तिपुर)