जनता टाइम्स

१२ मंसिर २०७६, बिहीबार १२:३४

पोहोर साल आधा भारतीयले घूस खुवाएको सर्वेक्षणको खुलासा


भारत, मंसिर १२

भारतमा सार्वजनिक गरिएको एक भ्रष्टाचार प्रतिवेदनमा लगभग आधा भारतीयले पोहोर साल घूस खुवाएको उल्लेख गरिएको छ । उनीहरूले भ्रष्टाचार दैनिक जीवनको अभिन्न अंग भएको बताएका छन् । ट्रान्सपरेन्सी इन्टरनेसनलको भारत शाखा तथा सामाजिक सञ्जाल प्ल्याटफर्म लोकलसर्कल्सले गरेको सर्वेक्षणमा घूस खुवाउने काम गत वर्षको तुलनामा १० प्रतिशतले घटेको पायो । तर भ्रष्टाचार अझै पनि व्याप्त रहेको छ र सर्वेक्षणमा भाग लिएका ५१ प्रतिशतले घूस खुवाएको स्वीकार गरेका थिए ।

‘भ्रष्टाचार भारतीय जीवनको अभिन्न अंग हो,’ ट्रान्सपरेन्सी इन्टरनेसनल इन्डियाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । विशेषगरी स्थानीय तहमा हुने सेवाप्रवाहमा भ्रष्टाचार व्यापक छ । त्यहाँ घूस र कमिसनको बोलबाला छ । मंगलवार प्रकाशित सर्वेक्षण प्रतिवेदनमा भारतका २८ राज्यमध्ये २० राज्यबाट एक लाख ९० हजार मानिसलाई सहभागी गराइएको थियो । विगत १२ महिनामा आफूहरूले कैयौंपटक घूस खुवाउनुपरेको २४ प्रतिशत व्यक्तिले बताउनुभयो ।

अनि २७ प्रतिशतले चाहिँ एक दुईपटक घूस खुवाएको बताउनुभयो । घरजग्गा दर्ता भ्रष्टाचारका सबभन्दा ठूला क्षेत्र रहेको देखिएको छ । एक चौथाइभन्दा बढी सहभागीले सम्बन्धित स्थानीय विभागलाई घूस खुवाएको बताउनुभयो। त्यसपछिको भ्रष्ट क्षेत्र प्रहरी हो । १९ प्रतिशत सहभागीहरूले गत एक वर्षमा सबभन्दा बढी घूस प्रहरीलाई दिएको बताउनुभयो ।

मानिसहरूले कर विभाग, यातायात कार्यालय, नगरपालिका तथा अन्य स्थानीय अधिकारीलाई पनि घूस खुवाएको प्रतिवेदनमा उल्लेख गरिएको छ । भारत सरकारले घूसखोरी र भ्रष्टाचारलाई नियन्त्रण गर्न प्रयास गरेको छ । भ्रष्टाचारनिरोधी विधेयकमा उसले संशोधन गरेको छ र निगरानीका लागि संस्थाहरू बनाएको छ । संशोधित विधेयकमा घूसखोरीका लागि सात वर्षको कारावास सजाय वा जरिवाना वा दुवैको व्यवस्था गरिएको छ ।