जनता टाइम्स

१२ मंसिर २०७६, बिहीबार १३:३०

नलगाड जलविद्युत् आयोजनाको मुआब्जा वितरणमा समस्या


जाजरकोट, मंसिर १२

वास्तविक पीडितभन्दा पछि आएका व्यक्तिले नलगाडमा जग्गा हडप्दा मुआब्जा वितरणमा समस्या देखिएको छ । नलगाड जलविद्युत् आयोजना निर्माण हुने सरकारी तयारी हुनासाथ जिल्ला बाहिर र सदरमुकामलगायत आसपासका व्यक्तिले जग्गा खरीद गरेर अहिले मुआब्जामा समस्या बनाउँदा आयोजनाको काम प्रभावित भएको छ । आइतबार काठमाडौँमा एक कार्यक्रममा सो गुनासो वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसम्मले गर्नुभएको थियो ।

वास्तविक पीडितलाई थाकथलो छाड्ने कुराको चिन्ताले सताएको छ भने पछि आएर घडेरी लिएका व्यक्तिले पैसा कसरी बढी हत्याउन पाइन्छ भनी चिन्ता व्यक्त गरेका छन् । मुआब्जा आफूले भनेजति नभएर आयोजना अघि बढ्न नदिने ती पछि बसेका व्यक्ति भूमाफिया नै भएको उहाँको ठम्याइ छ ।

बारेकोट गाउँपालिका र नलगाड नगरपालिकामा बसोवास नगर्ने तर आयोजना निर्माणको हल्ला चल्नेबित्तिकै स्थानीय सोझा व्यक्तिबाट जग्गा खरीद गरी वास्तविक कृषक मारमा पार्ने व्यक्तिका कारण मुआब्जा वितरणमा समस्या आएको आयोजनाले जनाएको छ ।अहिले आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कनको काम अन्तिम चरणमा पुगेको आयोजनाले जानकारी दिएको छ । डिपिआरको जिम्मा अष्ट्रलियाको स्मेक इन्टरनेशनल प्रालिसँगै अमेरिकाको एमडब्लुएच इन्टरनेशनल आरएनसी र नेपाली उदय कन्सलटेन्सीले लिएको छ ।