जनता टाइम्स

१३ मंसिर २०७६, शुक्रबार ०९:२५

उत्तरी हुम्लामा पानी नपर्दै हिमपात शुरु


हुम्ला, मंसिर १३

उत्तरी हुम्लामा बिहीबार बेलुकाबाट हिमपात सुरु भएको छ । बिहानैबाट बाक्लो बादल लागेर चिसो अत्यधिक बढेको भए पनि बेलुकाबाट हिमपात सुरु भएको हो ।

राति ८ः०० बजेबाट हिमपात सुरु भएको प्रमुख जिल्ला अधिकारी विनीता भट्टराईले जानकारी दिनुभयो । यसअघि पहिलो पटक हिमपात हुँदा पानी पर्ने गरेको भए पनि यसपालि भने सीधै हिउँ पर्न सुरु गरेको छ । हिउँ बाक्लो रूपमा पर्न सुरु भएको छ । सिमकोटमा यसपालि पहिलो हिमपात हो । हिमपात शुक्रबार बिहान पनि जारी रहेको छ ।

हिमपात भएपछि बिहानको तापक्रम पनि माईनस तीन डिग्री पुगेको छ । चिसो भने बिहीबार दिउसैबाट बढेको थियो । यो हिमपात जिल्लाको माथिल्लो क्षेत्रमा बढी भएको छ । विशेष गरि अग्ला क्षेत्रहरु सिमकोट गाउँपालिकाको रलिङ, पंचमुखी, चाङला हिमालमा बढी हिमपात भएको छ भने नाम्खा गाउँपालिकाको सबै क्षेत्रमा हिमपात भएको छ ।

हिमपात पछि हिमाल पारीको लिमी र चाला गाउँमा आवत जावत कठिन भएको छ । सदरमुकाम सिमकोटमा भने मानिसहरु भने हिउँमा खेल्न र फोटो खिच्न मस्त देखिएका छन् । (गोरखापत्र)