हेटौँडा, मंसिर १६ । वाग्मती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले आयोजना गरेको ‘संघीय विशेष अनुदान कार्यक्रमको समीक्षा तथा अभिमुखीकरण हेटौँडामा सम्पन्न भएको छ ।
कार्यक्रम स्वास्थ्य मन्त्री किरण थापाको प्रमुख आतिथ्यता तथा तथा मन्त्रालयका सचिव सुमित्रा गौतमको अध्यक्षतामा भएको हो ।कार्यक्रममा मन्त्रालयका निर्देशकहरू, वाग्मती प्रदेशका १३ वटै जिल्लाका जनस्वास्थ्य प्रमुखहरू तथा विभिन्न कार्यक्रमका फोकल पर्सनहरूको उपस्थिति रहेको थियो । अभिमुखीकरणमार्फत चालु आर्थिक वर्षका स्वास्थ्य कार्यक्रम, संघीय विशेष अनुदानको प्रभावकारी उपयोग, लक्ष्य प्राप्ति, बजेट व्यय र स्वास्थ्य सेवाको गुणस्तर सुधारबारे विस्तृत समीक्षा गरिएको मन्त्रालयले जनाएको छ ।

कार्यक्रममा स्वास्थ्य मन्त्री थापाले प्रदेशभर स्वास्थ्य सेवाको पहुँच, प्रभावकारिता तथा पारदर्शिता बढाउन संघीय विशेष अनुदानले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले स्थानीय तह तथा जिल्लास्तरीय निकायबिच समन्वय मजबुत बनाउन निर्देशन दिँदै अनुदानको सदुपयोगमार्फत प्रदेशका नागरिकले अनुभव गर्ने स्वास्थ्य सेवा अझ गुणस्तरीय र प्रभावकारी बन्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सचिव गौतमले समीक्षा तथा अभिमुखीकरण कार्यक्रमले नीतिगत स्पष्टता, कार्यान्वयनमा एकरूपता र वार्षिक लक्ष्य प्राप्तिमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार स्वास्थ्य मन्त्रालयले अनुदान प्राप्त कार्यक्रमहरूको नियमित मोनिटरिङ र नतिजामुखी कार्यान्वयनलाई थप कडाइका साथ अघि बढाउनेछ ।

कार्यक्रममा सहभागी जनस्वास्थ्य प्रमुख तथा फोकल पर्सनहरूले जिल्ला स्तरमा देखिएका चुनौती, आवश्यक समन्वय र आगामी योजनाबारे सुझाव र अनुभूति राख्नु भएको थियाे । स्वास्थ्य मन्त्रालयका अनुसार अभिमुखीकरणबाट प्राप्त सुझावहरू आगामी कार्यक्रम तथा नीतिगत सुधारमा उपयोग गरिनेछ ।













प्रतिक्रिया दिनुहोस्