जनता टाइम्स

१३ मंसिर २०७६, शुक्रबार १२:१०

ज्ञानेन्द्र शाही भन्छन् – सुरेन्द्र भण्डारीको सम्पत्ति छानबिन गरौं भन्दा मलाई निकाले


काठमाडौं, मंसिर १३

ज्ञानेन्द्र शाहीले नेपालका लागि नेपाली अभियानमा आवद्ध मानिसको सम्पत्ति छानविन गरौं भनेपछि निकालिएको खुलासा गरेका छन् ।

अभियानका सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेको सम्पत्ति छानविन गरौ भन्दा आफुलाई अभियानबाट निकालिएको शाहीले बताएका हुन् । डडेल्धुरा पुगेका उनले अभियानका अभियान्ता भनेर हिड्ने भण्डारी र न्यौपानेमाथी यस्तो आरोप लगाएका छन् ।

‘पञ्चायतकालदेखी सरकारी ओहोदामा बसेका व्यक्तिको सम्पत्ति छानविन गर्नका लागि पहिला त नेपालका लागि नेपाली अभियानमा बसेको सम्पत्ति छानविन गर्नुपर्यो नि’, शाहीले भने ‘हामीले छानविन गरेर बाहिर ल्याउनु पर्यो । बाहिर ल्याएपछि नेपालका नागरिकले हेर्ने भए । त्यसपछि मात्र हामीले अरुलाई हेर्न सक्ने भयौं नि ।’ शाहीले यो कुनै व्यक्तिविरुद्धको अभियान नभएको पनि स्पष्ट पारे ।

‘यो अभियान राजा ल्याउनलाई राजा फाल्नलाई वा प्रचण्ड केपी ओली ल्याउन वा फाल्नलाई होइन् । यो भोकमरीसँगको लडाईको अभियान, बेरोजगार, अन्याय र भ्रष्ट्रचारविरुद्धको लडाई हो । कुनै व्यक्तिविरुद्धको लडाई होइन्’, उनले अगाडी भने,‘यदी उहाहरुको यो राजा ल्याउने अभियान हो भने म सहभागी हुन सक्दिन भनेर यत्ति भनेको थिए मैले ।’

अभियानले शाहीले निकालेपछि दुवै पक्षबीच अहिले पोल खोलाखोल भईरहेको छ । केही समय अगाडीबाटै यो अभियानको आर्थिक स्रोतका विषयमा पटक पटक प्रश्न उठ्ने गरेको छ । तर, अहिलेसम्म अभियानले यसविषयमा एक शब्दपनि बोल्न सकेको छैन ।