काठमाडौं, मंसिर २२ । वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले स्वास्थ्य क्षेत्रमा हरेक नागरिकको पहुँच पुग्नु पर्ने बताउनु भएको छ ।
काभ्रेको मण्डनदेउपुर नगरपालिकाको जैसीथोकमा निर्माण भएको नयाँ स्वास्थ्य चौकी भवनको उद्घाटन गर्दै मन्त्री थापाले नेपालमा अहिले पनि स्वास्थ्य र शिक्षा क्षेत्र सरकार र नागरिकको प्राथमिकतामा नपरेको बताउनुभयो । स्वास्थ्य र शिक्षा क्षेत्रमा प्रभावकारी लगानी बिन देशले समृद्धि प्राप्त गर्न नसक्ने बताउँदै उहाँले अहिले वाग्मती प्रदेश सरकारले स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिनुभयो । ‘स्वास्थ्य क्षेत्रमा आमनागारिकको पहुँच पुग्ने गरी हामीले नयाँ–नयाँ कार्यक्रम लिएर आएका छौँ’, थापाले भन्नुभयो ।
भौतिक संरचनाको विकासलाई मात्र विकास भन्ने अवधारणबाट राज्य र समाज अझै बाहिर निस्कन नसकेको उहाँको धारणा छ । ‘अन्य भौतिक संरचनाको लागि बजेट माग हुन्छ, सकरको लगानी पनि भौतिक संरचनामा बढी हुन्छ, शिक्षा र स्वास्थ्य क्षेत्रमा आवश्यकता अनुसार बजेट विनियोजन नहुँदा हाम्रो समाजले सोचे जस्तो प्रगति गर्न सकेको छैन’, उहाँले भन्नुभयो ।
स्वास्थ्य संस्थामा जनशक्ति र उपकरण व्यवस्थापनको लागि प्रदेश सरकारले काम गरिरहेको जानकारी दिँदै उहाँले प्रादेशिक अस्पतालको सुविधा थप गर्दै लगिएको उनले बताउनुभयो । अहिले वाग्मतीका हरेक प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा थप गरिएको बताउँदै उहाँले अब बिरामीले उपचारको लागि काठमाडौँ नै पुग्नु पर्ने बाध्यता हट्दै गएको स्पष्ट पार्नुभयो । पर्दैन’, थापाले भने ।
वाग्मती प्रदेशका १० वटा प्रदेशीक अस्पतालमा मिर्गौलाको डाइग्लोसि सेवा, हाड-जोर्नीको उपचार, अप्रेसन सहितका प्रसूति सेवा लगायतका थुप्रै विशेषज्ञ सेवा सञ्चालनमा आएका उहाँले बताउनुभयो । त्यति मात्रै नभई यस वर्षबाट वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयले एक जिल्ला एक स्वास्थ्य सहर, एक पालिका एक नमुना स्वास्थ्य चौकीको कार्यक्रम सुरु गरेको थापाले जानकारी दिनुभयो । केही नगरपालिकालाई स्वास्थ्य सहरको रूपमा अघि बढाइसकिएको बताउँदै उहाँले स्वास्थ्य क्षेत्रमा आम नगरिएको पहुँच पुग्ने गरी नयाँ नयाँ कार्यक्रम लिएर आएका स्पष्ट पार्नुभयो ।
वाग्मती प्रदेशलाई पूर्णखोप सुनिश्चितता कार्यक्रम घोषणा गरिएको बताउँदै उहाँले अब संस्थागत सुत्केरी कार्यक्रम अघि बढाएको जानकारी दिनुभयो । अब हरेक महिला स्वास्थ्य संस्थामा सुत्केरी हुनुपर्छ भन्ने अवधारणा अनुसार वाग्मती प्रदेश सरकारले यो अभियान सुरु गरेको थापाले बताउनुभयो । उहाँले गर्भवती महिलाहरूलाई सम्भव भएसम्म नजिकको प्रादेशिक अस्पतालमा नै लगेर सुत्केरी गराउन पनि आग्रह गर्नुभयो । यसले सुत्केरी हुँदा हुने जीवनको जोखिम रोक्न सकिने थापाको धारणा छ । ‘समयमा नै स्वास्थ्य संस्थामा नपुराउँदा भइरहेको गर्भवती र सुत्केरीको मृत्युदरलाई घटाउने योजनामा हामी लागेका छौँ’, उहाँले भन्नुभयो ।
उहाँले अहिले स्वास्थ्य संस्थाबाट ९८ प्रकारका औषधि राज्यले निःशुल्क दिएको बताउँदै नागरिकलाई नसर्ने खालका औषधि उपबन्ध गराएको भए पनि ती औषधिको वितरण सही रूपमा हुन नसकेको बताउनुभयो । जसले नसर्ने रोगबाट दिनप्रतिदिन नागरिकको मृत्यु भइरहेको उहाँको भनाइ छ । अब स्वास्थ्यकर्मीलाई घर घरमा पठाए औषधि वितरण गरी त्यो मृत्युदर घटने काम गर्ने थापाले जानकारी दिए । मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम अन्तर्गत यो कार्यक्रम अधि बढ्ने थापाले बताउनुभयो । ‘नागरिकले रोगको समयमा नै उपचार औषधि पाएपछि उहाँहरूको आयु लम्बिन्छ’, उहाँले भन्नुभयो ।

नवनिर्मित भवन उद्घाटन कार्यक्रममा वाग्मती प्रदेशका पूर्वमन्त्री लक्ष्मण लम्साल, नगरप्रमुख टोपबहादुर वाइबा, उपप्रमुख विष्णुमणि नेपाल लगायतका जनप्रतिनिधि, जनस्वास्थ्य कार्यालय काभ्रेपलान्चोकका प्रमुख रागिश्री कक्षपती लगायत सहभागी हुनुहुन्थ्यो ।
यस अघिको स्वास्थ्य चौकी भवनलाई सबलीकरण गरी मर्मत सम्भार पछि नयाँ बनेको भवनको मन्त्री थापाले उद्घाटन गर्नुभएको हो । भवनमा झ्याल, ढोका, ट्वाइलेट, बाथरुम लगायतका संरचनाहरू बनाएर सबलीकरण गरिएको नगरपालिकाका प्राविधिक सञ्जीव यादवले जानकारी दिए । भवन सबलीकरणको लागि १२ लाख ३६ हजार रुपैँया खर्च भएको थियो ।













प्रतिक्रिया दिनुहोस्