जनता टाइम्स

२४ मंसिर २०८२, बुधबार ०८:३०

स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा नराखेर हामीले नागरिक स्वास्थ्यमा खेलबाड गरिरहेका छौँ : किरण थापा 


काठमाडौं, मंसिर २४ । वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरेले स्वास्थ्य क्षेत्रको विकासको लागि सबैले भूमिका खेल्नु पर्ने बताउनुभएको छ ।

सिन्धुलीको दुधौली नगरपालिकामा आयोजित मेडिकल उपकरण हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री थापाले अझै पनि नेपालको स्वास्थ्य क्षेत्र प्राथमिकतामा नपरेको गुनासो गर्नुभयो । तीनवटै तहका सरकारले कार्यक्रम बनाउँदा र नागरिकले योजना माग गर्दा समेत भौतिक पुर्वााधरमा जोड दिने तर स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा नराख्ने अनुभव उहाँले सुनाउनुभयो । हामी बाटो, पुल, सिँचाइ लगायत अनेक संरचनामामा बजेट छुट्याउँछौँ तर स्वास्थ्यलाई छुट्याउँदैनौँ’, उहाँले भन्नुभयो ।

एउटा नागरिक स्वास्थ्य हुँदा सिङ्गो समाज स्वास्थ्य हुन्छ भन्ने कुरामा ध्यान जान नसकेको उहाँको भनाई छ । ‘हामीले नागरिकको स्वास्थ्यमा खेलबाड गरिरहेका छौँ, स्वास्थ्य क्षेत्रमा पर्याप्त बजेट छुट्याउँदा मात्र हामीलाई स्वास्थ्य नागरिक बनाउन सक्छौँ’, उहाँले भन्नुभयो ।

उहाँले अस्पतालहरू राज्य र नागरिकका प्राथमिकतामा पर्नुपर्नेमा जोड दिनुभयो । वाग्मती प्रदेशका ५ वटा आधारभूत अस्पताललाई प्रदेश स्तरका अस्पताल बनाउनु पर्छ भनेर आफू लागिरहेको उहाँले बताउनुभयो । तर अर्थ मन्त्रालयले बजेट विनियोजन नगर्दा आफ्ना योजना सफल हुन नसकेका थापाले जानकारी दिनुभयो ।

सिन्धुलीको दुधौली, रामेछापको मन्थली लगायतका अस्पतालहरूमा बिरामीको अत्यधिक चाप भएकोले ती अस्पताललाई प्रदेशस्तरका अस्पताल बताउन अति आवश्यक रहेको उहाँले बताउनुभयो । यसको लागि आफूले पहल गरिरहेको थापाले जानकारी दिनुभयो ।

कार्यक्रममा स्वास्थ्य विभाग टेकु र वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयलाई अक्सिजनका कन्सटेटर, बेड, ह्विलचियर लगायतका सामाग्री हस्तान्तरण गरिएको थियो ।