जनता टाइम्स

२७ बैशाख २०७६, शुक्रबार ०९:५५

सात दिनमै मृत्यु संस्कार सकेको भन्दै अगुवाले गरे सामाजिक बहिष्कार


कलैया, वैशाख २७

सात दिनमै मृत्यु संस्कार सकेको भन्दै गाउँका अगुवाले सामाजिक बहिष्कार गरेपछि यहाँको एक परिवार विस्थापित भएको छ । बाराको सुवर्ण गाउँपालिका–६ धर्मपुर टोलका अवधेश यादवको नौ सदस्यीय परिवार सामाजिक बहिष्करणमा परेर गाउँबाटै विस्थापित भएको हो ।

यादवका अनुसार बुबा अनुठा यादवको वैशाख १५ मा कलैया अस्पतालमा उपचारका क्रममा निधन भयो । घरपरिवारले कबिरापन्थी धर्मअनुसार सात दिनमा काजकिरिया सकेपछि गाउँका अगुवा, स्थानीय नेतासमेत ११ जना व्यक्तिले आफ्नो परिवारलाई सामाजिक बहिष्कार गरेर गाउँबाट विस्थापित गराएको यादवले दुखेसो पोख्नुभयो । यादव परिवारसँग बोल्ने वा कुनै किसिमको व्यवहार गरेमा तीस हजार रुपियाँ दण्ड गर्ने निर्णयसमेत अगुवाले गरेको स्थानीय ५५ वर्षीय दुर्गा यादवले जानकारी दिनुभयो । त्यही डरले गाउँका व्यक्ति यादवको परिवारसँग कुनै पनि व्यवहारमा संलग्न नरहेको स्थानीय मुनिलाल यादवले बताउनुभयो ।

गाउँका अगुवा भनाउँदाले सबै व्यक्तिलाई भेला गराएर यादव परिवारलाई बहिष्कार गर्न उर्दी नै जारी गरेको स्थानीय विश्रामप्रसाद यादवले जानकारी दिनुभयो । यादव परिवारले बाहिरका कामदार बोलाएर काम गराउन खोज्दा समेत स्थानीय व्यक्तिले काम गर्न नदिएर गाउँमा बस्नै नसक्ने अवस्था उत्पन्न भएको पीडित पप्पु यादवले बताउनुभयो । बहिष्करणका कारण यादवको पक्की घरमा यतिबेला ताल्चा लागेको छ भने चामल मिल बन्द भएको छ । विस्थापित हुनेमा यादव, उनका भाइ, आमासहित परिवारका नौजना सदस्य छन् । बाराका मानव अधिकारकर्मी भोलानाथ पौडेलले यादव परिवारको न्यायका लागि सबैतिरबाट दबाब दिँदै सम्बन्धित् निकायमा निवेदन दिनुपर्ने बताउनुभयो । कसैले सामाजिक बहिष्कार गरेमा मुलुकी अपराध संहिता २०७४ को दफा १६८ अनुसार ५ वर्ष कैद र ५० हजार रुपियाँसम्म जरिवाना वा दुबै सजाय हुनसक्ने व्यवस्था रहेको अधिवक्ता प्रेमलाल चौधरीले जानकारी दिनुभयो ।