जनता टाइम्स

१४ मंसिर २०७६, शनिबार १४:४७

इराकमा भ्रष्टाचार विरोधी प्रदर्शन जारी : थप १५ को मृत्यु, १०० घाइते


बग्दाद, मङ्सिर १४

इराकमा भएको भ्रष्टाचार विरोधी प्रदर्शनका क्रममा भएका झडपमा परी थप १५ जनाको मृत्यु भएको छ । प्रदर्शनकारी र सरकारी सुरक्षाकर्मीबीच शुक्रबार भएका झडपमा परी अरु एक सय भन्दा बढी घाइते भएको जनाएको छ । देशको दक्षिणी क्षेत्रमा पर्ने धिकार प्रान्तमा घटना भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

“पछिल्लो विवरण अनुसार थप १५ प्रदर्शनकारी मारिएका छन्, अरु एक सय भन्दा बढी घाइते भएका छन्, भने कैयौलाई अश्रुग्याँसको असर परेको छ,” नाम सार्वजनिक नगर्ने सर्तमा एक स्वास्थ्यकर्मीले भने । धिकारको राजधानी सहर नासिरियाहमा पछिल्ला केही दिनदेखि भइरहेको प्रदर्शनका क्रममा झडप हुने र मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । प्रदर्शन अनियन्त्रित भएपछि धिकार राज्यका प्रहरी प्रमुख मोहम्मद अल कुरैसीले पदबाट राजिनामा दिनुभएको छ ।

धिकारका गभर्नर अदेल अल डुखैलीले नासिरियाह सहरमा भएको मानवीय क्षतिका कारण उहाँले राजिनामा दिएको उल्लेख गर्नुभएको छ ।केन्द्रीय राजधानी बग्दादसहित धेरै सहरमा आम प्रदर्शन जारी रहेको छ । गत अक्टोबरको सुरुदेखि इराकमा प्रदर्शनका घटना भइरहेको छ । प्रदर्शन चर्किदै गएपछि इराकका प्रधानमन्त्रीले राजिनामाको घोषणा गर्नु भएको छ भने देशमा राजनीतिक अन्यौल थप बढेको छ ।