जनता टाइम्स

४ पुष २०८२, शुक्रबार १५:३९

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापको टोल–टोलमा स्वास्थ्य शिविर, घर–घरमा स्वास्थ्यकर्मी अभियान


रामेछाप, पुस ४। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले टोल–टोलमा स्वास्थ्य शिविर सञ्चालन गर्दै घर–घरमा पुगेर बिरामी जाँच गर्ने अभियान सुरु गरेको छ। चिकित्सालयले साप्ताहिक रूपमा यो अभियान सञ्चालन गर्न थालेको हो।

अभियानअन्तर्गत स्वास्थ्यकर्मीहरू टोल–टोलका घर–घरमा पुगेर नागरिकको स्वास्थ्य जाँच गर्ने र थप उपचार आवश्यक पर्ने बिरामीलाई चिकित्सालयमा बोलाउने व्यवस्था गरिएको छ। चिकित्सालयमा आउने बिरामीलाई निःशुल्क उपचार सेवा उपलब्ध गराइने गरिएको छ।

घरदैलोमै स्वास्थ्य जाँच गर्दा नागरिकले चिकित्सालयले दिने सेवाबारे जानकारी पाउने र रोग लागेका बिरामीले समयमा नै उपचार पाउने भएकाले अभियान सञ्चालन गरिएको चिकित्सालयका प्रमुख दीपक कार्कीले बताउनुभयो। घरमै पुगेर सेवा दिँदा रोगको पहिचान र समयमै निदान गर्न सहज हुने उहाँको भनाइ छ।

स्वास्थ्यकर्मीहरूले टोल र घर–घरमा पुगेर प्रेसर, सुगरलगायत अन्य रोगको जाँच गर्ने र थप उपचार आवश्यक परेमा चिकित्सालयमा पठाउने गरेका छन्। घरमै आएर स्वास्थ्य जाँच गर्दा आफूजस्ता ज्येष्ठ नागरिकलाई निकै सहज भएको मन्थली–८ की वृद्धा मिश्री श्रेष्ठले बताउनुभयो।

यसैगरी, अहिलेसम्म सुगरको जाँच नगराएको बताउने रञ्जिता माझीले जाँच गर्दा आफ्नो सुगरको मात्रा बढी देखिएको जानकारी दिनुभयो। यसले समयमै उपचारका लागि जान सजिलो भएको उहाँको भनाइ छ। स्वास्थ्यकर्मी सुस्मिता कार्कीका अनुसार जाँच गरिएका धेरै नागरिकमा सुगर र प्रेसर बढेको पाइएको छ।

शिविरमार्फत चिकित्सालयले दिने सेवाबारे स्थानीयलाई जानकारी गराइएको स्वास्थ्यकर्मी जलबहादुर रोकायले बताउनुभयो। निःशुल्क सेवा उपलब्ध हुने विषयमा कतिपय नागरिकलाई जानकारी नै नभएको पाइएको र घर–घरमा पुगेर सेवा दिँदा स्थानीयहरू निकै खुसी भएको उहाँको भनाइ छ।

चिकित्सालयले दिने सेवाको दायरा बढ्दै जाँदा पछिल्लो समय बिरामीको चाप पनि बढ्न थालेको छ। चिकित्सालयले हरेक हप्ताको सोमबार बिहान निःशुल्क ‘होल बडी चेकअप’ सेवा प्रदान गर्दै आएको छ। साथै, बिरामी जाँच, निःशुल्क औषधि वितरण, निःशुल्क फिजियोथेरापी, अकुपञ्चर, ल्याब सेवा, पञ्चकर्म, पूर्वकर्मलगायतका सेवा समेत प्रदान गरिँदै आएको छ।

चिकित्सालय सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष नवराज पथिकले पालिका स्तरमा ठूला स्वास्थ्य शिविर र टोल–टोलमा साना शिविरहरू नियमित रूपमा सञ्चालन गरिने जानकारी दिनुभयो। यसले सेवाबारे नागरिकको पहुँच र जानकारी बढ्ने तथा सहज रूपमा स्वास्थ्य उपचार पाउने अवस्था सिर्जना हुने उहाँको भनाइ छ। ‘अब सेवाग्राही धाउने होइन, सेवा प्रदायक नै नागरिकको घर–घरमा पुग्नुपर्छ,’ उहाँले भन्नुभयो।