जनता टाइम्स

९ पुष २०८२, बुधबार ११:२५

वग्मती प्रदेशका अस्पताल अनुगमन अभियान सुरु : पहिलो चरणमा भक्तपुर अस्पताल निरीक्षण, ३ सय बेडकाे अस्पताल बनाउने स्वास्थ्य सचिवकाे प्रतिवद्धता


भक्तपुर, पुस ९। वाग्मती प्रदेश सरकारले प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन तथा निरीक्षण अभियान सुरु गरिएको छ । प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीको नेतृत्वमा प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा सुमित्रा गौतमसहितको टोलीले अभियानअन्तर्गत पहिलो चरणमा भक्तपुर अस्पतालको अनुगमन तथा निरीक्षण गरेको छ ।

अनुगमनका क्रममा टोलीले अस्पतालको सेवा प्रवाह, व्यवस्थापन अवस्था, पूर्वाधार, जनशक्ति तथा उपचारमा आएका बिरामीसँग प्रत्यक्ष अन्तरक्रिया गरेको थियो । साथै अस्पताल मातहत कार्यरत स्वास्थ्यकर्मीहरूसँग सेवा सुधारका विषयमा छलफलसमेत गरिएको छ ।

सो क्रममा प्रमुख सचिव अधिकारीले प्रदेशभित्रका सबै अस्पताललाई जनसेवामैत्री, सुविधा सम्पन्न र उत्कृष्ट स्वास्थ्य संस्थाका रूपमा विकास गर्ने उद्देश्यसहित अभियान सुरु गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘प्रदेशका अस्पतालहरूको वास्तविक अवस्था बुझेर सेवा सुधारका लागि आवश्यक निर्णय लिन यो अभियान थालिएको हो ।’

वीर अस्पतालपछि देशकै दोस्रो पुरानो अस्पतालका रूपमा चिनिने भक्तपुर अस्पतालमा भर्ना भएर उपचाररत बिरामीको बेडमा पुगेर प्रमुख सचिव अधिकारी, स्वास्थ्य सचिव डा गौतमलगायतको टोलीले स्वास्थ्य सेवा, सेवा प्रवाहको अवस्था, व्यवस्थापन र गुनासोबारे जानकारी लिएको थियो । अनुगमनपछि प्रतिक्रिया दिँदै प्रमुख सचिव अधिकारीले भक्तपुर अस्पतालको सेवा प्रवाह सन्तोषजनक रहेको बताउनुभयो ।

स्वास्थ्य सचिव डा सुमित्रा गौतमले उपचारका लागि आएका बिरामीलाई सेवाबाट पूर्ण सन्तुष्ट बनाएर घर पठाउने गरी सेवा प्रवाहमा ध्यान दिन आग्रह गर्नुभयो । उहाँले अस्पतालका लागि आवश्यक पूर्वाधार, उपकरण र जनशक्ति व्यवस्थापनमा मन्त्रालयबाट आवश्यक सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै अस्पताललाई ३०० बेडमा विस्तार गर्ने लक्ष्यअनुसार नयाँ भवन निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको उहाँले जानकारी पनि दिनुभयो ।

अन्तरक्रियाका क्रममा अस्पतालका मेडिकल डाइरेक्टर डा सुरेन्द्र भट्टले अस्पतालको समग्र सेवा अवस्था, जनशक्ति, उपकरण तथा पूर्वाधारको अवस्थाबारे प्रस्तुति दिनुभएको थियो ।

अस्पताल विकास समितिका अध्यक्ष शशीजङ्ग थापाले गुणस्तरीय सेवा प्रदान गर्न कर्मचारी र स्वास्थ्यकर्मीहरूले सकारात्मक भूमिका निर्वाह गरिरहेको बताउनुभयो । देशकै दोस्रो पुरानो अस्पताल भएकाले सेवा विस्तार तथा आवश्यक पूर्वाधार विकासमा प्रदेश सरकारसँगै केन्द्रीय सरकारले पनि ध्यान दिनुपर्ने आवश्यकता रहेको उहाँको भनाइ थियो ।

अन्तरक्रियामा सहभागी कर्मचारी तथा स्वास्थ्यकर्मीहरूले बिरामीको चापअनुसार जनशक्ति व्यवस्थापन, भवन तथा पूर्वाधार विस्तार, कर्मचारीको सेवासुविधा वृद्धि, उपकरण र स्रोतसाधनको उपलब्धताका विषयमा गुनासो तथा सुझाव राखेका थिए ।

प्रमुख सचिव अधिकारीले प्राप्त सुझाव र गुनासोलाई गम्भीरतापूर्वक लिँदै प्रदेश सरकारले स्वास्थ्य सेवा सुदृढीकरणलाई उच्च प्राथमिकतामा राखी आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाउनुभयो ।