रामेछाप, पुस १२ । राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा रामेछापका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्नुका साथै मालिस तेल र च्यावनप्रास वितरण गरिएको छ।
जिल्ला ज्येष्ठ नागरिक संघ रामेछाप र आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापको आयोजनामा मन्थलीमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा ९४ जना ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरी मालिस तेल र च्यावनप्रास वितरण गरिएको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापका प्रमुख दीपक कार्कीले जानकारी दिनुभयो। उहाँका अनुसार चिकित्सालयको ज्येष्ठ नागरिक स्वास्थ्य प्रवर्धन सेवा कार्यक्रमअन्तर्गत उक्त कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रममा ज्येष्ठ नागरिकको सुगर र प्रेसर परीक्षण गरिएको थियो। परीक्षणका क्रममा धेरै ज्येष्ठ नागरिकमा सुगर र प्रेसरसम्बन्धी समस्या देखिएकाले थप उपचारका लागि चिकित्सालयमा बोलाइएको कार्कीले बताउनुभयो।

ज्येष्ठ नागरिक संघ रामेछापका अध्यक्ष नारायणदास श्रेष्ठका अनुसार सुगर र प्रेसरको अवस्था कस्तो छ भन्ने थाहा नपाएका ज्येष्ठ नागरिकलाई परीक्षण गर्दा उनीहरू निकै खुसी देखिएका थिए। उहाँले यस्ता कार्यक्रमले ज्येष्ठ नागरिकको स्वास्थ्यप्रति सचेतना बढाउने विश्वास व्यक्त गर्नुभयो।
स्वास्थ्य परीक्षणसँगै कार्यक्रममा ज्येष्ठ नागरिकका अधिकार र आयुर्वेदिक उपचार पद्धतिबारे पनि जानकारी दिइएको थियो। कार्यक्रममा बोल्दै आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापको सञ्चालन तथा व्यवस्थापन समिति अध्यक्ष नवराज पथिकले ज्येष्ठ नागरिक तथा नसर्ने रोगका बिरामीका लागि आयुर्वेदिक उपचार प्रभावकारी र उपयोगी हुने बताउनुभयो।

यस्तै, जिल्ला समन्वय समिति रामेछापका उपप्रमुख प्रेमबहादुर थापाले ज्येष्ठ नागरिकका लागि आवश्यक सेवा उपलब्ध गराउन समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले ज्येष्ठ नागरिक लक्षित कार्यक्रम परिणाममुखी हुनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा मन्थली नगरपालिका उपप्रमुख ईश्वरी बस्नेतले ज्येष्ठ नागरिक समाजका मार्गदर्शक भएकाले सबैले उहाँहरूको सम्मान र सेवामा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो।
कार्यक्रममा जेष्ठ नागरिकहरुले आफ्ना अनुभव र समस्या सुनाउनुभएकाे थियाे ।












प्रतिक्रिया दिनुहोस्