जनता टाइम्स

२७ बैशाख २०७६, शुक्रबार १२:००

सागको तयारीका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा राखिने


काठमाडौँ, वैशाख २७

राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)लाई लक्षित गरी खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने भएको छ ।

नेपालमा आयोजना हुने १३औँ संस्करणको सागको तयारीका लागि हालै सम्पन्न आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई समावेश गरी बन्द प्रशिक्षणमा राख्ने निर्णय भएको राखेपले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुने खेलाडीलाई जेठ पहिलो साताबाट बन्द प्रशिक्षणमा राखिनेछ । युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्मा संयोजक रहेकोे प्रतियोगिता तयारी तथा व्यवस्थापन मूल समारोह समितिको बैठकले नेपाली खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर प्रशिक्षण गर्ने निर्णय गरेको हो । सागमा नेपालबाट ६२५ जना खेलाडीले प्रतिस्पर्धा गर्ने तय भएको छ ।

यसअघि आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता बारम्बर सर्दा सागको भविष्य अन्योलमा पर्दै आएको थियो । गएको फागुन–चैतमा नेपालले आयोजना गर्ने गरी निर्णय भएको १३औँ साग आठौँ राष्ट्रिय खेलकूद र पूर्वाधार पुनःनिर्माणमा भएको ढिलाइले गर्दा छ महीना पर आगामी मङ्सिर दोस्रो साता हुने तय भएको छ । तेह्रौँ साग नेपालले आगामी मङ्सिर १५ देखि २४ गतेसम्म आयोजना गर्नेछ ।

उक्त बैठकले प्रतियोगिताको मस्कट र लोगोसमेत पारित गरेको छ । मस्कट र लोगोलाई केही दिनमा सार्वजनिक गर्ने तयारी रहेको युवा तथा खेलकूद मन्त्रालयले जनाएको छ । यस्तै बैठकले प्रतियोगितामा सहभागिता जनाउने देशलाई परराष्ट्र मन्त्रालयमार्फत निमन्त्रणा पठाउने निर्णय गरेको छ ।