रामेछाप, पुस १८ । रामेछाप जिल्लामा अधिकांश सर्वसाधारणमा मधुमेह (सुगर) र उच्च रक्तचाप (प्रेसर)को समस्या देखिएको छ । वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गतको जिल्ला आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले सञ्चालन गरेको घरदैलो स्वास्थ्य परीक्षणका क्रममा उक्त तथ्य उजागर भएको हो ।
चिकित्सालयले जिल्ला सदरमुकाम मन्थली आसपासका क्षेत्रमा हरेक हप्ता घर–घरमा पुगेर सुगर र प्रेसरको जाँच गर्दै आएको छ । त्यसैगरी, ग्रामीण क्षेत्रका गाउँ–गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरी सुगर, प्रेसरलगायतका दीर्घरोगको परीक्षण भइरहेको चिकित्सालयले जनाएको छ । जाँचका क्रममा परीक्षण गरिएका अधिकांश व्यक्तिमा सुगर र प्रेसरको समस्या बढी देखिएको चिकित्सालयका निमित्त प्रमुख दीपक कार्कीले जानकारी दिनुभयो ।
जिल्ला सदरमुकाम नजिकको करमबोट क्षेत्रमा बिहीबार गरिएको घरदैलो जाँचमा पनि सोही प्रकृतिका बिरामी फेला परेका चिकित्सालयका स्वास्थ्यकर्मी प्रमोद पोखरेलले बताउनुभयो । ‘उक्त टोलमा ४० जनाको जाँच गर्दा २२–२५ वर्ष उमेर समूहका युवामा समेत सुगर र प्रेसरको समस्या देखियो,’ उहाँले भन्नुभयो, ‘यो अवस्था निकै चिन्ताजनक र जोखिमपूर्ण छ ।’
चिकित्सालयमा हरेक सोमबार सञ्चालन हुने होलबडी चेकअपका क्रममा गरिने ल्याब परीक्षणमा पनि जाँच गराउन आउने धेरै व्यक्तिमा सुगर र प्रेसर बढेको पाइएको चिकित्सालयका प्रयोगशाला प्राविधिक सुमन चापागाईँले जानकारी दिनुभयो । ‘जाँचका लागि आउने अधिकांश सेवाग्राहीमा कुनै न कुनै रूपमा समस्या देखिने गरेको छ,’ उहाँले भन्नुभयो ।
चिकित्सालयका निमित्त प्रमुख कार्कीका अनुसार यस्ता रोगहरू प्रायः असन्तुलित खानपान र आहार–विहारका कारण देखिने गरेका छन् । त्यसैले स्वस्थ जीवनशैली अपनाउन, खानपानमा संयम राख्न र नियमित शारीरिक अभ्यासमा ध्यान दिन अत्यन्त जरुरी रहेको उहाँको भनाइ छ ।













प्रतिक्रिया दिनुहोस्