रामेछाप, पुस १९ । उमाकुण्ड गाउँपालिकाले सामुदायिक विद्यालयमा कार्यरत बाल विकास शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले पाँचदिने आवासीय तालिम सुरु गरेको छ । सिद्धेश्वर माध्यमिक विद्यालय बाम्तीको सभाहलमा आजदेखि सुरु भएको तालिम पुस २३ गतेसम्म सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाको आयोजनामा भएको तालिमको औपचारिक उद्घाटन सिद्धेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक निर्मलप्रसाद त्रिपाठीको अध्यक्षतामा तथा वडा नं. २ का वडा अध्यक्ष खम्बाध्वज बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रदीप बस्नेत, समिति सदस्य गोर्मान दर्जी तथा सिट नेपालका फिल्ड को–अर्डिनेटर अनिल बस्नेतको विशेष उपस्थिति रहेको थियो ।
तालिमको मुख्य उद्देश्य बाल विकास शिक्षकहरूको ज्ञान, सीप र आत्मविश्वास अभिवृद्धि गर्दै प्रारम्भिक बाल शिक्षाको गुणस्तर सुधार गर्नु रहेको आयोजकले जनाएको छ । तालिममार्फत प्रारम्भिक बाल शिक्षाको अवधारणा, बालविकास कक्षामा के र कति सिकाउने, बालमैत्री शिक्षण–सिकाइ विधि, मूल्यांकन प्रणाली, कक्षाकोठा व्यवस्थापन तथा सिकाइ वातावरण, खेल तथा सिर्जनात्मक गतिविधि, कक्षा १ का शिक्षकसँग समन्वय, अभिभावक शिक्षा तथा बैठक सञ्चालनलगायत व्यवहारिक विषयमा प्रशिक्षण प्रदान गरिनेछ ।
तालिम अवधिभर सामुदायिक मण्टेश्वरी सिकाइ केन्द्र तथा सिद्धेश्वर माध्यमिक विद्यालय बाम्तीको बाल विकास कक्षाको अनुगमन समेत गरिने जनाइएको छ । प्रत्यक्ष अवलोकन र व्यवहारिक सिकाइमार्फत शिक्षकहरूको क्षमता थप सुदृढ बनाउने लक्ष्य लिइएको गाउँपालिकाकाे शिक्षाा शाखाले जनाएकाे छ ।
तालिममा सामुदायिक मण्टेश्वरी सिकाइ केन्द्र बाम्तीका सहजकर्ता बबिता कार्की र फुर्ल्हाकी शेर्पाले प्रशिक्षकका रूपमा सहजीकरण गरिरहनु भएकाे छ ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि वडा अध्यक्ष बस्नेतले प्रारम्भिक बाल शिक्षाको महत्व उल्लेख गर्दै बाल विकास शिक्षकहरूको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले यस्ता तालिमले शिक्षकहरूको ज्ञान र सीपमा वृद्धि भई बालबालिकाको सिकाइ उपलब्धिमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्नुभयो ।
तालिम कार्यक्रममा गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा कार्यरत ४० जना बाल विकास शिक्षकहरूको सहभागिता रहेको छ । सहभागी शिक्षकहरूले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै शिक्षण–सिकाइ प्रक्रियालाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन् ।













प्रतिक्रिया दिनुहोस्