रामेछाप, पुस २५ । वाग्मती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछाप मन्थलीले नागरिकको स्वास्थ्य सुधारका लागि गाउँ-गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरी ज्येष्ठ नागरिकलाई स्वास्थ्यवर्धक औषधि सहित विभिन्न औषधीहरू वितरण गरिरहेको छ ।
चिकित्सालयले नागरिक आरोग्य कार्यक्रम अन्तर्गत साप्ताहिक रूपमा बस्तीहरूमा पुगेर स्थानीयको रक्तचाप (प्रेसर) तथा मधुमेह (सुगर) लगायतका जाँच तथा परामर्श सेवा दिँदै आएको छ । साथै ज्येष्ठ नागरिक स्वास्थ्य प्रवर्धन कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिकहरूलाई च्यावनप्रास लगायत स्वास्थ्यवर्धक औषधि, मालिस तेल लगायतका औषधि समेत वितरण गरिएको चिकित्सालयका प्रमुख दीपक कार्कीले जानकारी दिनुभयो ।

चिकित्सालयले स्वास्थ्य जाँच गरेर परामर्श दिनुको साथै आयुर्वेदिक उपचार पद्धति र चिकित्सालयले दिने सेवाको बारेमा समेत स्थानीयलाई जानकारी दिने गरेको छ । स्वास्थ्य जाँच गर्दा समस्या देखिएका बिरामीहरूलाई उपचारको लागि चिकित्सालयमा बोलाएर उपचार गर्ने गरिएको कार्कीले बताउनुभयो ।

सो चिकित्सालयले बिरामी जाँच, पञ्चकर्म र पूर्वकर्म सेवाहरू, थेरापी सेवा , फिजियोथेरापी सेवा, अकुपञ्चर सेवा, प्याथोलोजी ल्याब सेवा तथा नेपाल सरकारबाट तोकिएका आयुर्वेद औषधिहरू निःशुल्क वितरण सेवाहरू उपलब्ध गराउँदै आएको छ । साथै ज्येष्ठनागरिकको स्वास्थ्य प्रवर्धनका कार्यक्रम तथा ६ महिना भित्रका सुत्केरी आमाहरूलाई लक्षित गरी दुग्धवर्धक औषधि वितरण लगायतका सेवा पनि चिकित्सालयले सञ्चालन गर्दै आएको कार्कीले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्