जनता टाइम्स

२५ पुष २०८२, शुक्रबार २१:४४

नागरिकलाई शिक्षित र स्वस्थ नबनाउँदासम्म समृद्ध वाग्मती प्रदेश निर्माण असम्भव : स्वास्थ्य मन्त्री किरण थापा 


हेटौंडा, पुस २५ । वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले शिक्षा र स्वास्थ्य देश विकासका प्रमुख आधार भएको बताउनुभएको छ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा हेटौँडामा आयोजित एमबिबिएस करिकुलम डेभलपमेन्ट वर्कसपको समापन कार्यक्रममा बोल्दै मन्त्री थापाले देशको समग्र विकासका लागि प्राथमिक लगानी शिक्षा र स्वास्थ्य क्षेत्रमा हुनुपर्ने स्पष्ट पार्नुभयो। ‘भौतिक पूर्वाधार निर्माण गरेर मात्र विकास सम्भव हुँदैन, जबसम्म नागरिकलाई शिक्षित र स्वस्थ बनाउन सकिँदैन, तबसम्म समृद्ध वाग्मती प्रदेश निर्माण हुन सक्दैन,’ उहाँले भन्नुभयो।

यही सोचलाई आत्मसात् गर्दै वाग्मती प्रदेश सरकार अगाडि बढिरहेको उल्लेख गर्दै मन्त्री थापाले सबै किसिमका चुनौतीको सामना गर्दै शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी वृद्धि गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो। प्रदेश सरकार गठन भएयता भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गरिएको स्मरण गराउँदै अब स्वास्थ्य र शिक्षालाई मुख्य प्राथमिकतामा राखेर अघि बढ्ने उहाँले स्पष्ट पार्नुभयो।

उहाँका अनुसार प्रदेश सरकारले जिल्लामा रहेका प्रादेशिक अस्पतालहरूको स्तरोन्नति गर्दै विशेषज्ञ सेवा समेत सुरु गरिसकेको छ। साथै, गाउँगाउँमा सञ्चालनमा रहेका आधारभूत अस्पतालमा आवश्यक जनशक्ति पूर्ति गर्न मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले महत्वपूर्ण भूमिका खेल्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो।