जनता टाइम्स

१७ मंसिर २०७६, मंगलवार १०:१४

विराटनगर विमानस्थलको धावन मार्ग विस्तार गर्ने पर्यटनमन्त्री भट्टराईको घोषणा


विराटनगर, मंसिर १७

योगेश भट्टराईले पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको कार्यभार सम्हालेपछि देशका हरेक विमानस्थलको अवलोकन तथा निरिक्षणका लागि पुग्नु भएको छ । उहाले हरेक विमानस्थलको सक्दो विकासका लागि योजना समेत बनाईरहनु भएको छ ।

यसैगरी विराटनगर विमानस्थलको धावन मार्ग विस्तार गरेर आगामी पाँच वर्षभित्र २ हजार ५ सय मिटरको बनाउने घोषणा गर्नुभएको छ । मन्त्री भट्टराईले हाल १ हजार ५ सय मिटरको धावन मार्ग भएको विमानस्थल सन् २०२५ सम्ममा २ हजार ५ सय मिटरको भइसक्ने घोषणा गर्नुभएको हो । विराटनगरमा सोमबार आयोजित कार्यक्रममा उहाले भन्नुभयो, ‘केही समयमै सङ्घीय सरकारले जग्गा अधिग्रहणको निर्णय गर्नेछ । यसपछि धमाधम काम अघि बढाइनेछ । सङ्घीय सरकारले यहाँको विमानस्थलको विस्तार कार्यमा प्रदेश र स्थानीय सरकारलाई पनि साझेदार बनाउनेछ ।‘

यो विमानस्थल ठूलो पनि होइन र सानो पनि होइन’, उहाले भन्नुभयो, ‘यो मध्यम स्तरको विमानस्थल हुनेछ । यसपछि यहाँबाट एटिआर ७२ जस्ता जहाज चलाएर अन्तर्राष्ट्रिय उडान भर्न सकिन्छ । बुद्ध एयरले एटिआर ७२ बाटै भारतका विभिन्न शहरमा उडान भरिरहेको छ ।’ प्रदेशको एक राजधानीबाट अन्य प्रदेशका राजधानीमा अन्तर प्रादेशिक उडान गरी हवाई सम्पर्क कायम राख्ने कार्यक्रम सरकारले बनाएको जानकारी समेत दिनुभयो ।

साना जहाज राजधानीमा नचलाउने र तिनलाई राजधानी बाहिर सार्ने तयारी भइरहेको चर्चा गर्दै उहाले काठमाडौं–लुक्ला–काठमाडौं उडानलाई मन्थली–लुक्ला–मन्थली बनाउने घोषणा गर्नुभयो ।