जनता टाइम्स

३० पुष २०८२, बुधबार २१:०२

वाग्मती प्रदेशमा स्वास्थ्य सेवा सुधारका कार्यक्रम तीव्र, विपन्न लक्षित सेवादेखि विशेषज्ञ सेवासम्ममा पहुँच विस्तार


काठमाडौं, पुस ३० । वाग्मती प्रदेश सरकारले स्वास्थ्य सेवा प्रणाली सुदृढीकरण गर्दै सर्वसाधारणको पहुँच विस्तार गर्न प्रभावकारी सुधारात्मक कार्यक्रमहरू अघि बढाएको छ। प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार नीति, संरचना र सेवा प्रवाहमा सुधार गर्दै स्वास्थ्यलाई नागरिकको जीवनसँग प्रत्यक्ष जोड्ने अभियानलाई तीव्र बनाइएको छ।

मन्त्री किरण थापा र स्वास्थ्य सचिव डा. सुमित्रा गौतम नेतृत्वमा आएपछि मन्त्रालयले विशेष गरी विपन्न, रोग प्रभावित र सेवा पहुँचबाट टाढा रहेका नागरिकलाई केन्द्रमा राखेर कार्यक्रम अघि बढाएको जनाएको छ। सोहीअनुसार आर्थिक अवस्था कमजोर भएका क्यान्सर रोगीलाई दिइँदै आएको उपचार सहयोग रकम ५० हजार रुपैयाँबाट बढाएर १ लाख रुपैयाँ पुर्‍याइएको छ। यस निर्णयले मध्यम तथा न्यून–आय भएका परिवारलाई क्यान्सर उपचारमा उल्लेखनीय राहत पुगेको मन्त्रालयको दाबी छ।

स्वास्थ्य सेवा प्रवाहलाई पारदर्शी, छरितो र उत्तरदायी बनाउन मन्त्रालयले स्वास्थ्य संस्थाको दर्ता, नवीकरण तथा अनुगमन प्रक्रियालाई डिजिटल प्रणालीमार्फत अघि बढाएको छ। एचआरआरएस (HRRS) प्रणाली लागू भएसँगै सेवा प्रवाहमा पारदर्शिता बढ्नुका साथै अनियमितता न्यूनीकरणमा सहयोग पुगेको जनाइएको छ।

प्रदेश अन्तर्गतका अस्पतालहरूको आकस्मिक निरीक्षण, आवश्यक उपकरण हस्तान्तरण तथा सेवा कार्यान्वयनमा प्रभावकारिता ल्याउने उद्देश्यले विशेष अभियानसमेत सुरु गरिएको छ। मन्त्रालयले ‘सेवाग्राहीमैत्री स्वास्थ्य सेवा’लाई प्राथमिकतामा राख्दै अस्पताल व्यवस्थापन, जनशक्ति परिचालन र उपचार प्रक्रियामा सुधार गर्दै आएको मन्त्री थापाले बताउनुभएको छ।

नसर्ने रोगको बढ्दो जोखिमलाई ध्यानमा राख्दै मन्त्रालयले ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ अभियान सुरु गरेको छ। रक्तचाप, मधुमेह, मानसिक स्वास्थ्य समस्यालगायत रोगको रोकथामका लागि राष्ट्रियस्तरको सचेतना कार्यक्रम सञ्चालन गरिएको छ भने समुदाय केन्द्रित गतिविधि अघि बढाइएको छ।

स्वास्थ्यकाे विषयलाई सबैको सरोकारको विषय बनाइ अन्य मन्त्रालयका योजना र कार्यक्रममा समेत स्वास्थ्यका विषय प्रवेश गराइएको छ । शिक्षा, कृषि, खानेपानी, पूर्वाधार लगायतका कार्यक्रममा समेत स्वास्थ्यकाे कार्यक्रमलाई जाेडेर अघि बढाइएको छ ।

स्वास्थ्य जनशक्ति उत्पादनलाई दीर्घकालीन समाधानका रूपमा अघि बढाउँदै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस अध्ययन कार्यक्रम सुरु गरिएको छ। यसले प्रदेशमै दक्ष चिकित्सक उत्पादनमा योगदान पुग्ने विश्वास मन्त्रालयले व्यक्त गरेको छ।

त्यसै गरी मन्त्रालयको मातहतमा रहने गरी हेटौँडामा औषधि उत्पादन कारखाना सञ्चालनमा ल्याइएको छ। यस कदमले औषधि आपूर्तिमा सहजता ल्याउनुका साथै राज्य कोषमै औषधि बिक्रीबाट प्राप्त आम्दानी जम्मा हुने व्यवस्था मिलेको छ। यसले राज्यलाई आर्थिक लाभ र बिरामीलाई सहज तथा सुलभ रूपमा औषधि उपलब्ध गराउने लक्ष्य लिइएको छ।

स्वास्थ्यलाई सरसफाइ र सडक सुरक्षासँग जोड्दै विभिन्न जनस्वास्थ्य अभियानहरू पनि सञ्चालनमा ल्याइएका छन्। एलोपेथिक उपचारसँगै आयुर्वेदिक उपचार पद्धति, योग, ध्यान र प्राणायामजस्ता वैकल्पिक उपचार प्रणालीको विस्तारमा समेत प्रदेश सरकारले जोड दिएको छ।

प्रदेशका विभिन्न जिल्लामा रहेका प्रदेशस्तरका अस्पतालहरूमा आवश्यक उपकरण र जनशक्ति थप गरी विशेषज्ञ सेवा सुरु गरिएको छ। यससँगै नागरिकहरूले अब जिल्लामै विशेषज्ञ उपचार सेवा पाउन थालेका छन्, जसले उपचारका लागि राजधानी केन्द्रित हुने बाध्यतालाई क्रमशः कम गरेको मन्त्रालयले जनाएको छ।