रामेछाप, माघ ८ । रामेछाप जिल्लामा सञ्चालनमा रहेका आरोग्य केन्द्रहरूले गाउँगाउँमै स्वास्थ्य सेवा प्रदान गर्न थालेसँगै आयुर्वेदिक उपचार पद्धतिप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको छ। आयुर्वेद उपचारप्रतिको विश्वास र माग बढेसँगै ग्रामीण भेगमा रहेका आरोग्य केन्द्रहरूको सेवा दायरा पनि क्रमशः विस्तार हुँदै गएको हो।
जिल्ला आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापका प्रमुख दीपक कार्कीका अनुसार मन्थलीमा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सञ्चालनमा रहेको छ भने मन्थली नगरपालिका– ८ चिसापानीमा आयुर्वेद सेवा केन्द्र रहेको छ। उहाँका अनुसार खाँडादेवी गाउँपालिकाको गागल, रामेछाप नगरपालिकाको सुकाजोर, गोकुलगंगा गाउँपालिकाको रस्नालु र सुनापति गाउँपालिकाको बेथान डहुमा आरोग्य केन्द्र सञ्चालनमा छन्।

त्यसैगरी दोरम्बा गाउँपालिकाको टोकरपुरमा आजदेखि आरोग्य केन्द्र सञ्चालनमा आएको छ। उमाकुण्ड र लिखु तामाकोशी गाउँपालिकामा समेत आरोग्य केन्द्र स्थापना गर्ने तयारी भइरहेको जिल्ला आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले जनाएको छ। आरोग्य केन्द्रमार्फत मात्र होइन चिकित्सालयले गाउँगाउँमा पुगेर स्वास्थ्य शिविरसमेत सञ्चालन गर्दै आएको छ।

खाँडादेवी गाउँपालिकाको गागलमा सञ्चालनमा रहेको आरोग्य केन्द्रको सेवा थप व्यवस्थित बनाउनुपर्ने आवश्यकता औँल्याउँदै जिल्ला समन्वय समिति रामेछापका निवर्तमान प्रमुख प्रेमबहादुर खड्काले स्थानीयस्तरमै गुणस्तरीय आयुर्वेद सेवा विस्तार हुनुपर्ने बताउनुभयाे ।

स्थानीय गणेशबहादुर खड्काका अनुसार आरोग्य केन्द्रका लागि स्थानीयले जग्गा उपलब्ध गराएर सुविधासम्पन्न भवन निर्माणको काम सुरु भए पनि बीचमै अलपत्र परेको छ। उहाँले संरचना र स्रोतको अभावले सेवा प्रभावकारी हुन नसकेको गुनासो गर्नुभयाे ।
आरोग्य केन्द्र गागलकी प्रमुख सम्झना तामाङले केन्द्रले मापदण्ड अनुसार सेवा दिइरहेको भए पनि स्थानीयस्तरबाट थप सेवा विस्तारको माग बढ्दै गएको बताउनुभयाे ।

त्यस्तै आरोग्य केन्द्र बेथान डहुका प्रमुख रोज मोक्तानले घरदैलो कार्यक्रममार्फत समेत स्थानीय नागरिकलाई सेवा दिँदै आएको जानकारी दिनुभयाे। तर सीमित साधन–स्रोतका कारण मागअनुसार सेवा विस्तार गर्न कठिनाइ भइरहेको उहाँको भनाइ छ। उहाँले स्थानीय तहसँग समन्वय गरेर सेवा विस्तारलाई निरन्तरता दिँदै आएको समेत उल्लेख गर्नुभयाे ।
पछिल्लो समय आयुर्वेदिक उपचारप्रति नागरिकको आकर्षण बढ्दै गएको भए पनि आवश्यक जनशक्ति, उपकरण र भौतिक पूर्वाधारको अभावका कारण अपेक्षित सेवा भने अझै पर्याप्त रूपमा उपलब्ध हुन नसकेको सरोकारवालाहरूको भनाइ छ। राज्यले मागअनुसार स्रोत–साधन व्यवस्थापन गर्न सके ग्रामीण क्षेत्रमा आयुर्वेद सेवा थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।












प्रतिक्रिया दिनुहोस्