रामेछाप, माघ ९ । वसन्त पञ्चमी तथा सरस्वती पूजाको पावन अवसरमा उमाकुण्ड गाउँपालिकाका विभिन्न माध्यमिक विद्यालयमा फुड फेस्टिबल कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
गाउँपालिकाको आर्थिक सहयोगमा आयोजित फुड फेस्टिबलले विद्यार्थीहरूमा व्यवहारिक ज्ञान, सिर्जनशीलता र आत्मविश्वास विकास गर्न महत्वपूर्ण योगदान पुर्याएको आयोजकहरूको भनाइ छ।

उमाकुण्ड गाउँपालिका–३ कुबुँस्थित श्री जनता माध्यमिक विद्यालय, साे गाउँपालिका–१ काे गुम्देलस्थित श्री महालंगुर माध्यमिक विद्यालय, वडा नं २ बाम्तीस्थित श्री सिद्धेश्वर माध्यमिक विद्यालय, वडा नं ३ को जनता मावी कुभुकास्थली, वडा नं ४ प्रितीस्थित श्री चण्डेश्वरी माध्यमिक विद्यालय, ५ काे सरस्वती मािव, वडा नं ६ गुप्तेश्वरस्थित श्री कैलेश्वर माध्यमिक विद्यालयमा र वडा नं ७ भुजीस्थित श्री कास्थेम माध्यमिक विद्यालयमा फुड फेस्टिबल आयोजना गरिएको थियो।

कार्यक्रममा विद्यार्थीहरूले स्थानीय परिकार तयार गरी प्रस्तुत गर्दै ‘घरमै रैथाने अन्नबालीको प्रयोग गरौं’ भन्ने सन्देशलाई प्राथमिकतामा राखेका थिए। स्थानीय स्रोत र उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यसहित प्रतिस्पर्धात्मक रूपमा सम्पन्न फुड फेस्टिबलमा सहभागी विद्यार्थीहरूलाई प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना स्थानका आधारमा पुरस्कार वितरण गरिएको थियो।

फुड फेस्टिबल कार्यक्रममा सम्बन्धित वडाका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक–शिक्षिका, अभिभावक, शिक्षाप्रेमी, बुद्धिजीवी, फिडर विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

आयोजकका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीहरूमा व्यवहारिक सीप, सहकार्यको भावना र आत्मविश्वास विकास गर्नुका साथै स्थानीय स्रोत, परम्परागत खाना र संस्कृतिको संरक्षण तथा प्रयोगको महत्वबारे सचेतना बढाउन सहयोग पुर्याउँछ।

यसैबीच, श्री जनता माध्यमिक विद्यालय कुबुँमा आयोजित फुड फेस्टिबलको अवसरमा विद्यालयमा करिब ३२ वर्ष प्रधानाध्यापकको रूपमा नेतृत्व गर्दै सेवा निवृत्त हुनुभएका पूर्व प्रधानाध्यापक मीनबहादुर कार्कीलाई विद्यालय परिवारले विशेष सम्मानसमेत गरेको छ।

स्थानीय तहको सहयोग र विद्यालयको सक्रियतामा सञ्चालन भएका फुड फेस्टिबल कार्यक्रमलाई आगामी दिनमा अझ व्यवस्थित र निरन्तर बनाउने अपेक्षा सहभागीहरूले व्यक्त गरेका छन्।














प्रतिक्रिया दिनुहोस्