आनन्द पोखरेल
नेपालको वर्तमान राजनीतिक अवस्था गहिरो सङ्कट र दिशाहीनताको चरणमा प्रवेश गरिसकेको छ। संविधान जारीपछिको चरणमा मुलुक स्थायित्व, समृद्धि र संस्थागत सुदृढीकरणतर्फ अघि बढ्नुपर्ने थियो । तर व्यवहारमा नेपाली राजनीति दल विभाजन, सत्ता केन्द्रित स्वार्थ, अस्थायी गठबन्धन, पपुलिष्ट उभार र बाह्य प्रभावको चपेटामा पर्दै गइरहेको छ।
जेनजीको नाममा सिर्जना गरिएको उथलपुथलले यो सङ्कटलाई अझ जटिल बनाएको छ। यो अवस्था केवल सरकारको असफलता मात्र होइन, राज्यको दिशामाथि उठेको गम्भीर प्रश्न हो।
जेनजी आन्दोलन : असन्तोषबाट अराजकतासम्म
नेपालको राजनीतिमा देखिएको ‘जेनजी आन्दोलन’ कुनै दलको घोषणापत्र वा वैचारिक बहसबाट जन्मिएको थिएन। यो आन्दोलन सडकबाट उठेको असन्तोषको स्वर थियो । संस्थागत विफलता, शासनप्रति बढ्दो निराशा र ‘अब यसरी चल्दैन’ भन्ने सामूहिक चेतनाले यसलाई जन्म दिएको थियो।
यस आन्दोलनले नेता खोजेन, जवाफ माग्यो । विचारधाराभन्दा नैतिक प्रश्न उठायो । यस अर्थमा आन्दोलनको प्रारम्भिक ऊर्जा शुद्ध थियो। तर संगठन, नीति र वैचारिक मार्गचित्रको अभावका कारण यो आन्दोलन सजिलै प्रायोजित शक्तिहरूको हातमा पुग्यो। अन्ततः यसलाई विध्वंस, अराजकता र असंवैधानिक सत्ता–निर्माणको दिशातर्फ मोडियो।
जेनजी आन्दोलनले पुरानो राजनीतिक संरचनालाई अस्वीकार गर्यो, तर विकल्प दिन सकेन। यही रिक्तताबाट पपुलिजमले टाउको उठायो।
अस्थिरता, दल विभाजन र पपुलिजमको उदय
पछिल्ला वर्षहरूमा नेपाल निरन्तर राजनीतिक अस्थिरतामा फस्दै आएको छ। सरकार बन्ने–ढल्ने खेल, अवसरवादी गठबन्धन र दलभित्रको विभाजनले नीतिगत निरन्तरता ध्वस्त पारेको छ। बाम, उदारवादी र मध्यमार्गी दलहरू वैचारिक अस्पष्टता र सत्ता–केन्द्रित राजनीतिमा अल्झिँदा राज्य सञ्चालन कमजोर भयो।
यही कमजोरीबाट पपुलिजम जन्मिएको हो।
पपुलिजम समाधान होइन, यो संकटको लक्षण मात्र हो। यसले जटिल राष्ट्रिय समस्यालाई भावनात्मक नारामा सीमित गर्छ, दीर्घकालीन नीति दिन सक्दैन र राज्यलाई झन् कमजोर बनाउँछ।
अझ खतरनाक पक्ष के भने, पपुलिजम बाह्य शक्तिहरूका लागि सहज प्रवेशद्वार बन्छ । यसले राष्ट्रिय अस्तित्वमाथि छायाँ पार्दै भूराजनीतिक दबाब निम्त्याउँछ।
स्थायित्व बिना विकास सम्भव छैन
नेपालको आजको मुख्य आवश्यकता राजनीतिक स्थायित्व हो। स्थायित्व बिना आर्थिक विकास, रोजगारी सिर्जना, सामाजिक न्याय र संस्थागत सुदृढीकरण सम्भव छैन। यही सन्दर्भमा २०८२ को निर्वाचन केवल सत्ता परिवर्तनको प्रक्रिया होइन, राष्ट्रको दिशा निर्धारण गर्ने निर्णय हो।
निर्वाचनमार्फत देशलाई स्थायित्व कसले दिन सक्छ ?
यो प्रश्नकाे उत्तर प्रयोगात्मक, अस्थायी वा भावनात्मक शक्तिहरूबाट सम्भव छैन।
यसका लागि अनुभव, संगठन, वैचारिक स्पष्टता र राज्य सञ्चालनको प्रमाणित क्षमता भएको राष्ट्रिय शक्ति आवश्यक छ।
पपुलिजमको पराजय किन राष्ट्रिय आवश्यकता हो ?
पपुलिजम जनताको असन्तोष, निराशा र आक्रोशलाई चुनावी लाभका लागि प्रयोग गर्ने प्रवृत्ति हो। यसले समस्या समाधान होइन, समस्याको प्रदर्शन गर्छ। भावनाले जितेको चुनाव दीर्घकालीन शासन सञ्चालन गर्न सक्दैन।
नेपालजस्तो दलाल पूँजीवाद, सामाजिक विविधता र संवेदनशील भूराजनीतिक अवस्थाबाट गुज्रिरहेको देशमा पपुलिजमले अराजकता निम्त्याउँछ, समाजलाई विभाजन गर्छ, संस्थाहरू कमजोर बनाउँछ र विदेशी हस्तक्षेपलाई सहज बनाउँछ। त्यसैले २०८२ मा पपुलिजमको पराजय कुनै दलगत चाहना होइन—राष्ट्रिय आवश्यकता हो।
नेकपा (एमाले) : स्थायित्वको आधार
नेपालका धेरै राजनीतिक दलमध्ये नेकपा (एमाले) आकस्मिक लोकप्रियतामा उभिएको शक्ति होइन। यसको राजनीति ‘जनताको बहुदलीय जनवाद (जबज)’ जस्तो व्यवहारिक सिद्धान्तमा आधारित छ, जसले लोकतन्त्र र समाजवादबीचको द्वन्द्वलाई नेपाली यथार्थमा समाधान गर्छ।
एमालेले चुनावी प्रतिस्पर्धालाई अस्वीकार गर्दैन, बरु जनसमर्थनमार्फत समाजवादी उन्मुख राज्य निर्माणको माध्यमका रूपमा स्वीकार गर्छ। विगतमा एमालेले राज्य सञ्चालनको अनुभव, नीतिगत निरन्तरता र संस्थागत स्थायित्व प्रदान गरेको तथ्य निर्विवाद छ।
पूर्वाधार विस्तार, योजनाबद्ध विकास, सामाजिक सुरक्षा, राष्ट्रिय आत्मविश्वास-यी एमाले नेतृत्वका सरकारका ठोस उपलब्धिहरू हुन्।
राष्ट्रियता र विकास : एमालेको समन्वित दृष्टि
नेकपा (एमाले) का लागि राष्ट्रियता र विकास अलग विषय होइनन्। बलियो राष्ट्रियता आत्मनिर्भर र समावेशी विकासबाट मात्र सम्भव हुन्छ भन्ने मान्यता पार्टीको केन्द्रमा छ।
सन्तुलित कूटनीति, राष्ट्रिय हितमुखी परराष्ट्र नीति, बलियो राज्य संयन्त्र र राष्ट्रिय पूँजी निर्माणमार्फत एमालेले नेपालको सार्वभौमिकता सुरक्षित गर्छ। उत्पादनशील अर्थतन्त्र, औद्योगिकीकरण, कृषि आधुनिकीकरण र रोजगारी सिर्जनालाई विकासको मेरुदण्ड मानेर परनिर्भरता घटाउने रणनीति एमालेको स्पष्ट मार्ग हो।
कूटनीतिक सन्तुलन र राष्ट्रिय स्वाधीनता
आज नेपाल क्षेत्रीय र अन्तर्राष्ट्रिय शक्ति–राजनीतिक दबाबको बीचमा उभिएको छ। यस्तो अवस्थामा न अन्धराष्ट्रवाद समाधान हो, न आत्मसमर्पणवादी उदारवाद। आवश्यक छ-सन्तुलित कूटनीति, व्यवहारिक अन्तर्राष्ट्रिय सम्बन्ध र स्पष्ट राष्ट्रिय दृष्टिकोण।
नेकपा (एमाले) मात्र यस्तो शक्ति हो, जसले राष्ट्रियता, वर्गीय चेतना र राज्यहितलाई जोडेर कूटनीतिक सन्तुलन बुझ्छ। यही कारण एमाले अन्तर्राष्ट्रिय रूपमा देखिने, सुनिने र बुझिने राष्ट्रिय शक्ति बनेको छ।
२०८२ निर्वाचन : एमालेको विजय किन अपरिहार्य ?
२०८२ को आम निर्वाचन लोकप्रियताको परीक्षा होइन, राष्ट्रको सुरक्षा र स्थायित्वको निर्णय हो। पपुलिजमलाई पराजित गर्नु भनेको अराजकता, अस्थिरता र विदेशी हस्तक्षेपको जोखिमलाई अस्वीकार गर्नु हो।
नेकपा (एमाले) को विजय भनेको-
- राज्य संरचना जोगाउनु,
- लोकतन्त्रलाई स्थायित्व दिनु,
- समाजवादी उन्मुख विकासको बाटो सुरक्षित गर्नु हो।
त्यसैले २०८२ मा एमालेको जित कुनै दलगत स्वार्थका लागि होइन । यो नेपालको राजनीतिक स्थायित्व, आर्थिक समृद्धि र राष्ट्रिय भविष्यका लागि अपरिहार्य आवश्यकता हो।














प्रतिक्रिया दिनुहोस्