काठमाडौं, भदौ २२ । भोटेकोशी बाढीमा फसेकाका आफन्त र परिवारजन सरकारले उद्धारमा काम नै नगरेको भन्दै सडकमा आइपुगेका छन ।
भोटेकोशीको भिषण बाढीका कारण नुवाकोटस्थित ‘त्रिशूली थ्री बी’ हाइड्रोपावरको क्याम्पमा फसेका सिनियर जियोलोजिष्ट सुमेस अमात्यको परिवारले सडकमा आएर सरकारको सुस्त उद्धार प्रक्रियाप्रति असन्तुष्टि र आक्रोश पोखेको छ । सोमवार माइतीघरमा बेपत्ता भएकाहरूका परिवारजनले गरेको प्रदर्शनमा सहभागी भएका अमात्यकी पत्नी र बहिनीले सरकारले समयमै उद्धारमा ध्यान नदिँदा ज्यान जोखिममा परेको बताउनु भयो ।
बाढी आएको दिनदेखि नै ५४ वर्षीय भूगर्भविद् अमात्यलगायत १३ जना कर्मचारीहरू सो आयोजनाको भवनभित्रै फसिरहेको र हालसम्म उनीहरूको अवस्था अज्ञात रहेको छ ।
अमात्यकी पत्नी सुमना श्रेष्ठले गृह मन्त्रालयको उदासीनताप्रति आक्रोशसँगै दुःख व्यक्त गर्नुभयो । श्रेष्ठले उद्धारको नेतृत्व गर्नुपर्ने गृहमन्त्री नै सिलिण्डर बोकेर स्टण्डमा लागेको तर सुरुङमा फसेका मानिसको उद्धार गर्ने काममा लाग्दै नलागेको भन्दै आक्रोश पोख्नुभयो ।

‘हामी गृह मन्त्रालय गयौँ, तर त्यहाँभित्र छिर्नसमेत पासको लागि घण्टौँ कुर्नुपर्ने रहेछ । भित्रका कर्मचारीले रेस्क्यू भइरहेको छ, किन आत्तिनुभएको ? भन्दै गैरजिम्मेवार जवाफ दिन्छन् । हामीलाई हाम्रो मान्छेको सुरक्षित फिर्ती चाहियो,’ उहाँले भन्नुभयो ।
सुमेसका बहिनीले उद्धारमा सरकारले अत्यन्तै गैरजिम्मेवारपूर्ण काम गरेको र विदेशी सहयोग लिन ढिलाइ गरेकोमा प्रश्न उठाउनु भयो ।
‘यो सामान्य बाढी होइन, यो त सुनामी हो । १० मिनेटमै भवन पुरिएको छ । यस्तो बेला सरकारले किन विदेशी सहयोग समयमै लिएन ? के हँसिया र कोदालो बोकेर यत्रो विपत्तिबाट मान्छे बचाउन सकिन्छ ?’ उहाँले भन्नुभयो । उहाका अनुसार त्रिशूली ३ बी मा ‘हेभी लिफ्ट’ हेलिकप्टर र आधुनिक उपकरणको अभाव रहेको छ ।

‘सरकारसँग दक्ष जनशक्ति र उपकरण छैन भने किन विदेशी नगुहारेको ? हामी आफैँ उद्धारमा जान तयार छौँ, तर हामीलाई उपकरण र हेलिकप्टर उपलब्ध गराइयोस्,’ उहाँले भन्नुभयो । गृहमन्त्रीले आवश्यक नीतिगत निर्देशन दिनुको साटो ग्यास सिलिण्डर बोकेर स्टन्ट गरेको उहाँको आरोप छ ।
‘उहाँ त देशको गृहमन्त्री हो, उहाँले त कुर्सीमा बसेर उद्धारको ठोश योजना बनाउनुपर्ने होइन ? उहाँलाई सुनाइदिनुस– यदि उहाँले केही गर्न सक्नुहुन्न भने बरु हात उठाएर सरेन्डर गरिदिनुस् । बरु हामीलाई जान दिनुस्, हामी गएर खोज्छौँ, उद्धार गर्छाैं,’ उहाँले भन्नुभयो, ‘उहाँ अक्सिजन सिलिण्डर समातेको फोटो खिचाएर बस्ने होइन, सिलिण्डर बोक्न हामी जान्छौं ।’














प्रतिक्रिया दिनुहोस्