जनता टाइम्स

२२ भाद्र २०८३, सोमबार १४:१४

महाविपत्तिपछि पुनर्निर्माणमा तीन तहका सरकारबीच हातेमालाे हुन्छ : मुख्यमन्त्री किरण थापा  


काठमाडौं, भदौ २२ । बाढी तथा पहिरोबाट ठूलो क्षति व्यहोरेको बागमती प्रदेशले अब उद्धार र राहतसँगै पुनर्निर्माणलाई प्राथमिकतामा राख्ने भएको छ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले सङ्घीय सरकार र स्थानीय तहसँग आवश्यक समन्वय गरी प्रभावित क्षेत्रको पुनर्निर्माणलाई अघि बढाइने बताउनुभएको छ।

मुख्यमन्त्री थापा मगरले महाविपत्तिका कारण ठूलो मात्रामा भौतिक संरचना ध्वस्त भएकाले अब प्रभावित क्षेत्रलाई पुनः सामान्य अवस्थामा फर्काउन सरकारको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभयो। उहाँले पुनर्निर्माणका लागि प्रदेश सरकारको बजेटसमेत विनियोजन भइसकेको जानकारी दिँदै स्थानीय तहले उपलब्ध गराउने स्थान र आवश्यकताका आधारमा सङ्घ, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरेर काम गरिने बताउनुभयो।

बाढीका कारण प्रदेशका विभिन्न क्षेत्रमा साना–ठूला गरी ४० भन्दा बढी पुलमा क्षति पुगेको उहाँले जानकारी दिनुभयो। पक्की पुल बगेका स्थानमा तत्कालका लागि तुइनको व्यवस्था गरेर आवागमन सहज बनाउने काम सुरु गरिएको उहाँले बताउनुभयो। दीर्घकालीन रूपमा भने त्यस्ता स्थानमा झोलुङ्गे पुल तथा बेलिब्रिज निर्माण गर्नुपर्ने उहाँको भनाइ छ। मुख्यमन्त्री थापा मगरले भन्नुभयो, अहिले साना–ठूला गरेर ४० वटा भन्दा बढी पुलहरू भत्किएका छन्, पूरै संरचना ध्वस्त भएको छ। त्यसलाई फेरि हामीले पुनर्निर्माण गर्नुपर्नेछ।’

उहाँका अनुसार पुनर्निर्माणका लागि स्थानीय तहले उपयुक्त स्थान उपलब्ध गराएपछि आवश्यक पूर्वाधार निर्माणमा तीनै तहका सरकारले आ–आफ्नो जिम्मेवारी पूरा गर्नेछन्। स्थानीय तहले उपलब्ध गराएको स्थानमा सडक, खानेपानी, विद्यालय, अस्पताललगायतका अत्यावश्यक पूर्वाधार निर्माणका लागि प्रदेश र सङ्घीय सरकारबीच सहकार्य गरिने मुख्यमन्त्रीले बताउनुभयो।

उहाँले महाविपत्तिबाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउनु तत्कालीन आवश्यकता भए पनि अब दीर्घकालीन पुनर्स्थापना र पुनर्निर्माणतर्फ अघि बढ्नुको विकल्प नरहेको स्पष्ट पार्नुभयो। सरकारका सबै तहबीच प्रभावकारी समन्वय कायम गरी क्षतिग्रस्त संरचना पुनःनिर्माण गर्दै प्रभावित नागरिकको जनजीवन सामान्य बनाउन प्रदेश सरकारले पहल गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो।