रामेछाप, माघ १३। रामेछापको सुनापती गाउँपालिका–४ मा रहेको श्री डहु माध्यमिक विद्यालयले प्रविधिमैत्री शिक्षालाई व्यवहारिक रूपमा अघि बढाउँदै विद्यालयलाई नयाँ पहिचान बनाएको छ। विद्यालयले प्लेग्रुपदेखि कक्षा १२ सम्म १७ वटा स्मार्टबोर्ड जडान गरेर आधुनिक कक्षा सञ्चालनमा ल्याएको छ भने शिक्षकलाई ल्यापटप उपलब्ध गराएर शिक्षण गुणस्तर सुधार्न महत्वपूर्ण कदम चालेको छ।
विद्यालयले निर्माण गरेको प्रविधिमैत्री कक्षा कोठामा विद्यार्थीहरूले डिजिटल सिकाइ माध्यमबाट विषयवस्तु बुझ्न पाउँदा सिकाइ प्रक्रिया सहज र आकर्षक बनेको विद्यालयका प्रधानाध्यापक दलबहादुर बल तामाङले बताउनुभयाे। ‘स्मार्टबोर्डले पढाइलाई थप रोचक र अन्तरक्रियात्मक बनाएको छ,’ उहाँले भन्नुभयाे, ‘विद्यार्थीहरू अब केवल पाठ पढ्ने होइन, भिडियो, ग्राफ, प्रस्तुति र अनलाइन स्रोतबाट पनि सिक्दै छन्।’

उक्त विद्यालयमा अहिले करिब ५ सय विद्यार्थी अध्ययनरत छन्। विद्यालयले मात्र स्थानीय तहमा नभएर देश भरका विद्यार्थीलाई समेत आकर्षित गर्दै आएको छ। विद्यालयमा २४ जिल्लाका २ सय ८० विद्यार्थीहरू आवासीय सुविधासहित अध्ययन गरिरहेका छन्। यसले विद्यालयलाई शिक्षाको उत्कृष्टता मात्र होइन, सामाजिक समावेशीकरण र पहुँचको दृष्टिले पनि महत्वपूर्ण बनाएको छ।
विद्यालयका प्रधानाध्यापक बल तामाङका अनुसार विद्यालयले केही वर्ष यता एसइईमा जिल्लामा उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ। यो सफलता विद्यार्थी र शिक्षकहरूको मेहनत तथा अभिभावकहरूको सक्रिय समर्थनले सम्भव भएको उहाँले बताउनुभयाे।

विद्यालयले स्मार्ट प्रविधि र शिक्षण वातावरण सुधार्दै गएको भए पनि, स्थानीय समुदाय र अभिभावकको सहभागिता यस सफलताका पछाडि मुख्य कारण रहेको देखिन्छ। प्रधानाध्यापक बल तामाङले भन्नुभयाे, ‘विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा दिनका लागि शिक्षक र अभिभावकले निरन्तर सहयोग गरेका छन्, विद्यालयले प्रविधिको प्रयोग मात्र होइन, संस्कार, अनुशासन र शैक्षिक मूल्यलाई पनि जोड दिएको छ।’
विद्यालयले प्रविधिमैत्री शिक्षालाई मात्र सीमित नराखि, विद्यार्थीहरूको समग्र विकासमा जोड दिएको छ। विद्यार्थीलाई व्यवहारीक अभ्यायमा पनि त्यतिक जाेड दिइएकाे छ । उनीहरुले सरसफाइदेखि आफूले खाने तरकारी आफैँ उत्पादन गर्ने गर्दछन् ।
शिक्षकहरूलाई ल्यापटप उपलब्ध गराउँदा उनीहरूले पाठ तयार पार्न, विद्यार्थीहरूको प्रगति अनुगमन गर्न र अनलाइन स्रोतबाट सामग्री संकलन गर्न सहज भएको बताउँछन्। शिक्षकले पनि यो प्रविधिलाई सहज रूपमा प्रयोग गर्दै पाठ योजनामा विविधता ल्याउन थालेका छन्।

विद्यालयमा कक्षा ११ र १२ का विद्यार्थी पनि कम्प्युटरबाट नै पढ्ने गर्दछन् । उक्त विद्यालयले प्रविधिमैत्री शिक्षालाई आधार बनाएर गुणस्तरीय शिक्षा प्रदान गर्ने अभियानलाई निरन्तरता दिने योजना बनाएको छ।
प्रधानाध्यापक बलले भन्नुभयाे, ‘हामीले प्रविधिलाई शिक्षा प्रणालीको हिस्सा बनाएर विद्यार्थीलाई प्रतिस्पर्धी बनाउने लक्ष्य राखेका छौँ आगामी दिनमा अझ बढी स्रोत र सहकार्यले विद्यालयलाई उत्कृष्ट बनाउने लक्ष्य छ।’

शिक्षा क्षेत्रमा यो विद्यालयले देखाएको पहलले अन्य विद्यालयहरूलाई पनि प्रेरणा मिल्ने विश्वास स्थानीय शिक्षक र अभिभावकहरूमा छ। विद्यालयले प्रविधि र शिक्षाको समन्वयमार्फत गुणस्तरीय शिक्षा प्रवाह गरिरहेको छ भने, विद्यार्थीहरूले पनि नयाँ युगको मागअनुसार सीप र ज्ञान हासिल गर्दै भविष्यतर्फ अग्रसर भएका छन्।













प्रतिक्रिया दिनुहोस्