जनता टाइम्स

१६ माघ २०८२, शुक्रबार २१:४१

आरोप होइन, स्वच्छ प्रतिस्पर्धाबाटै लोकतन्त्र बलियो बन्छ :  डा. राजन भट्टराई


काठमाडौं, माघ १६ ।  नेकपा एमालेका नेता तथा प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र नं. ४ का उम्मेदवार डा. राजन भट्टराईले निर्वाचनमा स्वच्छ प्रतिस्पर्धा नै लोकतन्त्रको आधार भएको बताउनुभएको छ ।

उहाँले चुनावी प्रतिस्पर्धा गर्दा अरूलाई आरोप लगाउनेभन्दा आफ्ना विचार, काम र उपलब्धिहरू जनतासमक्ष प्रस्तुत गरेर विश्वास जित्नुपर्नेमा जोड दिनुभयो । डा. भट्टराईले भन्नुभयो, ‘निर्वाचनमा स्वच्छ प्रतिस्पर्धा गर्ने हो, प्रतिस्पर्धामा जाँदा अरूलाई आरोप लगाउने कुरा कम गर्ने, आफ्नो कुरा, आफूले गरेका राम्रा कामहरू, विचारहरू र योजनाबारे बुझाएर मन जित्ने हो, त्यसमा नै म बढी विश्वास गर्छु ।’

उहाँका अनुसार स्वच्छ र मर्यादित प्रतिस्पर्धाबाट मात्रै लोकतन्त्रलाई अझ प्रतिस्पर्धात्मक, दिगो र बलियो बनाउन सकिन्छ । ‘त्यही विश्वासका आधारमा नै हामीले लोकतन्त्रलाई स्वच्छ र प्रतिस्पर्धात्मक बनाउन सक्छौँ र दिगो पनि बनाउन सक्छौँ,’ उहाँले भन्नुभयो ।

डा. भट्टराईले लोकतन्त्रको मूल्याङ्कन समयले गर्ने उल्लेख गर्दै नयाँ पुस्ताले अझ जिम्मेवार भएर लोकतन्त्रलाई सही दिशातर्फ उन्मुख गराउनुपर्ने आवश्यकता औँल्याउनुभयो । ‘हामी हाम्रो पुस्ताले कति गराउन सक्यो, समयले मूल्याङ्कन गर्नेछ तर नयाँ आउने पुस्ताले लोकतन्त्रलाई त्यसतर्फ उन्मुख गराउनु पर्छ ।’

काठमाडौं–४ मा चुनावी माहौल तीव्र बन्दै जाँदा डा. भट्टराईले सकारात्मक बहस, विचार र विकासका एजेन्डामार्फत जनताको समर्थन प्राप्त गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।