भक्तपुर, माघ १६ । वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालको थप सेवा विस्तार तथा शय्या वृद्धि प्रक्रियाको स्थलगत अनुगमन गर्नुभएको छ ।
अस्पतालको निरीक्षण तथा अवलोकन गर्दै मन्त्री थापा मगरले वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयको २०८२ माघ १४ गतेको निर्णयअनुसार अस्पताललाई ५० शय्याको जनरल अस्पताल सञ्चालन गर्न अनुमति प्रदान गरिएको प्रमाणपत्रसमेत हस्तान्तरण गर्नुभयो । कार्यक्रममा मन्त्री थापा मगरले अस्पतालको सेवा विस्तारसँगै भक्तपुरवासीले अझ सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउने विश्वास व्यक्त गर्नुभयो ।
स्वास्थ्य मन्त्रीसँगै वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमले पनि अस्पतालको अवलोकन गर्नुभएको थियो ।
कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका प्रमुख तथा अस्पताल सञ्चालक समिति अध्यक्ष सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजय कृष्ण श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे, अस्पतालका निर्देशक डा. दिपेन्द्र कुमार रौशन, प्रशासकीय प्रमुख सरिता श्रेष्ठ, प्रशासकीय अधिकृत रूपेश श्रेष्ठलगायतले मन्त्री थापा मगरलाई अस्पतालले प्रदान गर्दै आएको सेवा, सुविधा र भावी योजनाबारे जानकारी गराउनुभयो ।

टोलीले अस्पतालका विभिन्न विभागहरूको निरीक्षण गर्दै स्वास्थ्य सेवाको गुणस्तर, सुधारका सम्भावना र आगामी योजनाबारे छलफलसमेत गरेको छ ।
नेपाल–कोरिया मैत्री नगरपालिका अस्पताल सन् १९९९ मा ‘किङ ही नेपाल स्वास्थ्य केन्द्र’का रूपमा स्थापना भएको थियो । स्थानीयवासीलाई सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सुरु गरिएको केन्द्रलाई नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णयअनुसार १४ सेप्टेम्बर २००९ मा ५० बेडको जनरल अस्पतालमा स्तरोन्नति गरिएको थियो ।
यो अस्पताल नेपाल र दक्षिण कोरिया बिचको मित्रताको प्रतीकका रूपमा समेत लिइन्छ । अस्पतालको विकासमा दक्षिण कोरियाली सरकारको वैदेशिक सहायता निकाय कोइका (KOICA) र रोज क्लब कोरियाको ठूलो प्राविधिक तथा आर्थिक सहयोग रहेको छ ।
अस्पतालले आगामी सन् २०२४–२०२६ को अवधिमा सेवा विस्तारलाई तीव्रता दिएको छ । कोइकाको करिब ९५ लाख अमेरिकी डलर (झण्डै १ अर्ब २५ करोड रुपैयाँ) अनुदान सहयोगमा अस्पतालको १ सय १ बेडको नयाँ भवन निर्माण कार्य अघि बढिरहेको छ ।
अस्पतालका निर्देशक डा. दिपेन्द्र कुमार रौशनका अनुसार भवन निर्माण सम्पन्न भएपछि न्युरोसर्जरी, स्त्रीरोग, प्रसूति सेवा र हाडजोर्नी उपचारजस्ता विशेषज्ञ सेवाहरू थप विस्तार गर्ने लक्ष्य राखिएको छ ।













प्रतिक्रिया दिनुहोस्