काठमाडौं, माघ १७। नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारमा जान र टिक्नका लागि कांग्रेसले अब जथाभाबी गठबन्धन नगर्ने स्पष्ट पार्नुभएको छ।
पार्टीको निर्वाचन परिचालन मूल समिति घोषणा कार्यक्रममा शनिबार सम्बोधन गर्दै उहाँले सत्ता प्राप्तिका लागि सिद्धान्त र विचार त्याग्न नहुने बताउनुभयो। ‘सरकार टिकाउनका लागि नाजायज सम्झौता नगरियोस् भन्ने जनताको चाहना छ, त्यसलाई हामीले बुझेका छौँ,’ उहाँले भन्नुभयो।
नेताहरूको जीवनस्तर पारदर्शी हुनुपर्ने उल्लेख गर्दै उहाँले कांग्रेस केवल ‘इलेक्सन मेसिन’ मात्र नभएको पनि बताउनुभयो।
उहाँका अनुसार गएको वर्षसम्म पार्टीलाई चुनाव केन्द्रित बनाइएको थियो। चुनाव लड्न र जित्नमै सबै ध्यान गएको उल्लेख गर्दै उहाँले अब कांग्रेस चुनावदेखि चुनावसम्म सीमित नभई विचारलाई प्राथमिकतामा राखेर अघि बढ्ने स्पष्ट पार्नुभयो।
नयाँ पुस्ताको चाहनाअनुसार पार्टीलाई अगाडि बढाउने सङ्कल्पसहित कांग्रेस अघि बढेको उहाँले बताउनुभयो। साथै उहाँले अब ‘नयाँ कांग्रेस’ को यात्रा सुरु भएको उल्लेख गर्दै यो यात्रामा हातेमालो गर्न सबैलाई आग्रह गर्नुभयो।













प्रतिक्रिया दिनुहोस्