रामेछाप, माघ १७ । नेकपा एमाले वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाश प्रसाद ढुङ्गेलले फागुन २१ मा हुने निर्वाचनलाई ‘देश बनाउने र देश जलाउने शक्तिबिचको निर्णायक चुनाव’ का रूपमा व्याख्या गर्नुभएको छ।
शनिबार नेकपा एमाले रामेछापको विस्तारित बैठकलाई सम्बोधन गर्दै उहाँले अहिले मुलुकको राजनीति दुई ध्रुवमा विभाजित भएको बताउनुभयो। उहाँका अनुसार एकातर्फ देश निर्माण गर्ने शक्ति एमाले रहेको छ भने अर्कोतर्फ देशलाई अस्थिरता र अव्यवस्थातर्फ धकेल्ने शक्ति सक्रिय छन्। ‘अहिलेको प्रमुख लडाइँ देश बनाउने एमाले र देश जलाउने शक्तिबिचको हो,’ उहाँले भन्नुभयो, ‘यो लडाइँ एमालेले जित्नै पर्छ, एमालेलाई हार्ने छुट छैन।’
ढुङ्गेलले मतदातालाई सचेत रहन आग्रह गर्दै चुनावको परिणाम जनताकै निर्णयमा निर्भर रहने उल्लेख गर्नुभयो ।‘देशभरिका मतदाता सबै गँजडी रहेछन् भने देश जलाउनेले जित्लान्, नत्र यो चुनाव एमालेले जित्छ,’ उहाँले स्पष्ट शब्दमा भन्नुभयो।

उहाँले मुलुकको लोकतन्त्र, सार्वभौमसत्ता र राष्ट्रिय अखण्डता जोगाउन एमालेको जित अनिवार्य रहेको दाबी गर्नुभयो। अध्यक्ष ढुङ्गेलले एमाले नेतृत्वको सरकार हुँदा भएका विकास निर्माणका काम जनताको माझमा पुर्याउन सके मात्रै पनि चुनाव जित्न पर्याप्त हुने बताउनुभयो। ‘एमाले सत्तामा हुँदा विकासका महत्त्वपूर्ण काम भएका छन्, ती उपलब्धिहरू जनतासमक्ष पुर्याउन सकियो भने चुनाव जित्न काफी हुन्छ,’ उहाँले भन्नुभयो।
उहाँले जनतासँग एमालेको योगदान र उपलब्धि जोडेर लैजानुपर्ने जिम्मेवारी पार्टीका नेता तथा कार्यकर्ताको काँधमा रहेको उल्लेख गर्दै निर्वाचनमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो। यो पार्टीका नेता- कार्यकर्ताको मूल्याङ्कनको बेला भएको उहाँले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्