जनता टाइम्स

१७ माघ २०८२, शनिबार २१:००

अनेमसंघ धादिङले हरेक बुथमा ३० महिला परिचालन गर्ने   


धादिङ, माघ १७ । अखिल नेपाल महिला संघ धादिङ निर्वाचन क्षेत्र नं. १ स्तरीय विस्तारित बैठक तथा युवा महिला कमिटी गठन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

थाक्रे गाउँपालिका–२ सिम्लेस्थित क्लिप साइड रिसोर्टको सभाहलमा आयोजित कार्यक्रमले आगामी निर्वाचनलाई लक्षित गर्दै प्रत्येक मतदान केन्द्र (बुथ) मा ३० जना महिला परिचालन गर्ने योजना तर्जुमा गरेको छ। बैठकमा महिला परिचालनमार्फत निर्वाचन सुरक्षामा अग्रभूमिका खेल्ने, संगठन विस्तार गर्ने तथा रचनात्मक कार्यक्रम सञ्चालन गर्ने विषयमा विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा सहभागी महिलाहरूले बुथ स्तरमा गर्नुपर्ने काम, जिम्मेवारी र परिचालन रणनीतिबारे योजना निर्माण गरेका छन्।

देवकी सिलवालकाे अध्यक्षता तथा नेकपा एमालेका नेता भूमि त्रिपाठीकाे प्रमुख आतिथ्यतामा भएकाे बैठकले निर्वाचन क्षेत्र स्तरीय १५ सदस्यीय युवा महिला कमिटी समेत गठन गरेको छ। नवगठित कमिटीको संयोजकमा शान्ती तामाङ चयन हुनुभएको छ भने सचिवमा शर्मीला खड्का राई चयन हुनुभएको छ।

महिला संगठनलाई अझ सक्रिय, सशक्त र निर्वाचन केन्द्रित बनाउने उद्देश्यसहित आयोजना गरिएको उक्त कार्यक्रमलाई सहभागीहरूले रचनात्मक तथा सृजनात्मक पहलका रूपमा उल्लेख गरेका छन्।