काठमाडौं, माघ १७ । दोलखाबाट प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवार पार्वत गुरुङलाई विजयी गराउने उद्देश्यसहित काठमाडौंमा रहेका दोलखाली एमाले कार्यकर्ता एकजुट भएका छन्।
नेकपा एमाले भीमेश्वर नगर काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा काठमाडौं केन्द्रित निर्वाचन अभियानलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विषयमा छलफल गरिएको छ। भेलामा उम्मेदवार गुरुङले आफ्नो भनाइ राख्दै दोलखाको विकास, संगठन सुदृढीकरण तथा जनताको भरोसा जित्ने अभियानमा सबै कार्यकर्ता सक्रिय भएर लाग्नुपर्ने बताउनुभयाे ।
कार्यक्रममा आगामी निर्वाचनलाई लक्षित गर्दै प्रचार–प्रसार, जनसम्पर्क विस्तार तथा मतदाता परिचालनका लागि विभिन्न कमिटी गठन गरिएको छ। साथै, काठमाडौंमा रहेका दोलखाली मतदातालाई संगठित गर्दै अभियान सञ्चालन गर्ने कार्ययोजना समेत निर्माण गरिएको मञ्चले जनाएको छ।
भेलामा सहभागी अगुवा कार्यकर्ताहरूले दोलखामा एमालेको जित सुनिश्चित गर्न एकताबद्ध भएर निर्वाचन अभियानमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।













प्रतिक्रिया दिनुहोस्